
जोमसोम ।
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत उपल्लो मुस्ताङको घमी खोला पुल निर्माणकार्य निकै विलम्व भएको छ । निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण कोरलानाका जोड्ने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ स्थित घमी खोलामा निर्माणधिन पुल निर्माण ६ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकिरहेको छैन ।
कालिगण्डकी करिडोर अन्तर्गत राष्ट्रिय गौरवको कोरला सडक मुस्ताङको घमी खोला पुल ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा हाल आधा मात्र भौतिक प्रगती भएको छ । कोरला सडक अन्तर्गत (जोमसोम—कोरला) ११०किमी दुरीमा पर्ने करिव एक दर्जन सडक पुलहरु सम्पन्न भईसक्दा समेत सुरुवाती चरणमा ठेक्का लागेको घमी खोला पुल निर्माणकार्यमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो ।
२०७५ साल पुस १६ गते निर्माण कम्पनी हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले आयोजनासंग ठेक्का सम्झौता गरेको मुस्ताङको कोरलानाका जोड्ने घमी खोला पुलको सम्झौता म्याद ३ वर्ष अर्थात २०७८ साल पुस ९ गते सम्पन्न गर्नुपर्ने थियो । तर, आयोजनाले वर्षैपिच्छे पुल निर्माणको काममा फर्किन निर्माण कम्पनीलाई पटक/पटक ताकेता गररहेको भएपनि निर्माण कम्पनीको अटेरी र वेवास्ताका कारण घमी खोला पुल निर्माणकार्य सम्पन्न हुन ढिलाई भएको हो । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले मुस्ताङको घमी खोला पुलको हालसम्म ६ पटक म्याद थप भईसकेको जनाएको छ ।
एक स्पानको ४० मिटर लम्बाई र ड्रेन तथा फुटपाथ गरी ११ मिटर चौडा रहेको घमी खोला पुलको ठेक्का सम्झौता लागत ६ करोड ८० लाख रहेको छ । आयोजना अन्तर्गत सबै भन्दा छोटो र कम लागतमा ठेक्का सम्झौता भएको घमी खोला पुल निर्माणमा विलम्व हुँदा जोमसोम हुँदै लोमान्थाङ र कोरलानाका जाने सवारी साधनलाई बर्खायाममा सवारी आवागमनमा सास्ती भएकाे छ ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले घमी खोला पुल निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको बताए । आयोजनासंगै सुरुवाती चरणमै ठेक्का सम्झौता भई पुल निर्माण सुरुवात गरेपनि निर्माण कम्पनीले निकै लामोसमय पुलको काम अलपत्र पारेको अध्यक्ष बिष्टको भनाई छ । उनले विकास निर्माणको कामलाई अवरुद्ध पार्ने निर्माण कम्पनीलाई आवश्यक कारवाही वा ठेक्का सम्झौता रद्द गरेर काम अघि बढाउनु पर्ने बताए । ‘लामो समयपछि अहिले निर्माणको काम गरेको देखिन्छ, कतिखेर फेरी अलपत्र पार्ने हुन्’, अध्यक्ष बिष्टले भने,‘ सबै स्थानका पुलहरु बनेर सवारी गुडिरहदा घमी खोला पुल सम्पन्न हुन नसक्नु दुर्रभाग्यनै हो ।’
यता, अलपत्र अवस्थामा रहेको घमी खोला पुल सम्पन्न गर्न निर्माण कम्पनी कार्यस्थलमा फर्किएको बेनी—जोमसोम—कोरला सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए । घमी खोलामा निर्माणधिन पुलको फाउन्डेसन र सवस्टक्चरको काम सम्पन्न भएको आयोजना प्रमुख झाले उल्लेख गरे ।
कोरलानाका जोड्ने घमी खोला पुलमा पुल ढलानका लागि सुपरस्टक्चरको काम बाँकी रहेको आयोजनाले उल्लेख गरेको छ । निर्माण कम्पनीले जनशक्ति ,उपकरण र निर्माणस्थलमा पुर्याई काम अघि बढाईसकेकाले चालु आर्थिक वर्ष भित्रै पुल निर्माण सम्पन्न भएर सवारी साधन आउजाउ गर्न मिल्ने आयोजना प्रमुख झाले स्पष्ट पारे ।
मुस्ताङको घमी खोला पुलबाहेक जोमसोम—कोरला राजमार्गमा निर्माणधिन सबै पुलहरुको काम सम्पन्न भईसकेका छन् । जोमसोम—कोरला सडक अन्तर्गत मुस्ताङको कागबेनी खोलामा निर्माणधिन पुल ९५ प्रतिशत भौतिक प्रगती हुँदा विसं २०८० साल साउन २८ गतेको भिषण बाढीले बगाएर क्षति तुल्याएको थियो । उक्त स्थानमा आयोजनाले नयाँ ठेक्का खुलाएको छैन । घमी खोला पुल सम्पन्न भएमा कागबेनी खोला पुलबाहेक जोमसोम—कोरला राजमार्ग सडकमा सबै पुलहरु सञ्चालनको अवस्थमा रहने आयोजनाको भनाई छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया