सम्पादकीय—वन कुकुर संरक्षणको सफलता

समाधान संवाददाता २०८२ वैशाख ७ गते ९:४६

वन कुकुरको संख्या विश्वमै लोपोन्मुख छ । र ९ सय देखि २ हजार जतिको संख्यामा विश्वभर भएको भनिएको यो जनावर नेपालमा भने ५ सयको हाराहारीमा रहेको अनुमान अनुसन्धानहरुबाट गर्न सकिएको छ । नेपालको पनि कास्कीमा समेत यो वन्यजन्तु पाइन्छ । र, कास्कीको मादी गाउँपालिकाको ताङतिङ क्षेत्रमा यो भेटिएको छ । यसको संरक्षणमा गाउँलेको योगदान छ । त्यहाँ ‘सिठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवद्र्धन’ नामक परियोजना नै सञ्चालित छ, जसले हालै विश्वकै उत्कृष्ट परियोजनाका रुपमा पुरस्कार प्राप्त गरेको छ । जुन नेपालका लागि गौरवको विषय हो ।

Advertisement


युरोपियन आउटडोर कन्जरभेसन एसोसिएनले आयोजना गरेको प्रतिस्पर्धामा कस्केली परियोजना सर्वोत्कृष्ट भयो । विश्वभरका उत्कृष्ट ६ परियोजनामध्ये मतका आधारमा नेपाली परियोजना सर्वाेत्कृष्ट हुनु सबैतिरबाट लोकप्रिय ठहरिनु पनि हो । परियोजनाले ३० हजार युरो पुरस्कार पाउने छ र फेरि पनि वन कुकुर संरक्षणमा यो लगानी हुने छ । वन कुकुर वा कुनै पनि वन्यजन्तुको संरक्षण त्यो जाति विशेषको अस्तित्वमा सीमित हुँदैन । त्यो त मानव जीवनसँगै अन्योन्याश्रित हुन्छ । मानव अस्तित्व पृथ्वीको सन्तुलित पर्यावरण र खाद्यचक्रका आधारमा अडिएको हो भनेर बुझियो भने पृथ्वीका सबै जीवनजनावर र प्राणीहरुको रक्षाको महत्व बुझिन्छ । यहींनेर वन कुकुरको पनि महत्व छ ।


वन कुकुर संरक्षण परियोजनासँग संरक्षणकर्मी राजु आचार्यको विशेष योगदान रह्यो । त्यसो त यसअघि पनि उनले बेलाको ह्विट्ली अवार्ड संरक्षणकै खातिर प्राप्त गरेका थिए, जसको रकम ५० हजार पाउन्ड थियो । वन्यजन्तुको संरक्षण केवल संरक्षणकर्मी वा समुदायको मात्रै होइन । वन कुकुर जोगाउन मादी गाउँपालिका र ताङतिङवासीले जसरी योगदान पुर्‍याएका छन्, त्यो स्तूत्य हुँदै हो । तर यसमा राज्यको पनि उत्तिकै ध्यान जान जरुरी छ ।

सत्य के हो भने राज्यको एकल प्रयास पनि सफल हुँदैन, त्यसमा समुदायको साथ अवश्य चाहिन्छ । र, समुदायलाई चाहिँदा आवश्यक सहयोग राज्यले उपलब्ध गराउनुपर्छ । वन कुकुर संरक्षणमा नेपाली परियोजनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट पदक हस्तगत गर्दा यसले न केवल नेपालको समुदायको संरक्षण सम्बन्धी योगदानलाई ख्याति र प्रतिष्ठा अनि प्रेरणा पनि प्राप्त भएको छ । यो प्रेरणा सबै नेपाली समुदायले लिएर अरु वन्यजन्तु र कुनै पनि जीवजन्तुको हितकारी काममा लाग्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया