टुटीखुइँहरुलाई हेग पु‍र्‍याउने हिम्मत निकालौं

चिरञ्‍जीवी शर्मा २०८२ वैशाख ७ गते १२:०४

परिचय
केही समय अघिसम्म आमूल परिवर्तन, अग्रगमन, नविन नेपाल भन्दै, दुनियाँको जनै छिँदाएर मिल्क्याउने टुटिखुइँ आजभोलि सामाजिक सञ्‍जालमा ब्राह्मण आचरण जोगाउ अभियानको नाममा वा साँस्कृतिक संरक्षण अभियानको गफ दिन थालेको रहेछ । एकताका बाहुन वा बाहुन समाज भन्ने नाम सुन्नासाथ कन्सिरीको रौं ठाडो पारेर ठाडै लड्न जाने ऊ आजभोलि धोति फेरेर वास्तु पूजा गर्न तम्सिएको फोटो पोस्ट गर्ने गर्दछ । उसले ठाउँ ठाउँमा नैतिक शिक्षा वा ब्रह्म आचरणको भाषण पनि फलाक्दो रहेछ । मुखमा टालो बाँधेर दुनियाँ लुटेर कमाउ धन्दा चलाउने ऊ छोटो समयमा नै करौडपति बन्न सफल पनि भएको छ ।

Advertisement

उसलाई असामी बनाएर तमसुक लेख्ने, भर विश्वासमा सरसापटी चलाइदिने, ठाँउ थलाको प्रचलन अनुसार ढुकुटी प्रथामा पनि सामेल गराउनेहरुले स्वभावतः हावा त खाए खाए, उनीहरुले हावा खानुको अलावा यता टुटिखुइँको कमाउ धन्दाले भने पक्कै पनि सगरमाथा चुमिसकेको थियो र छ । उसलाई सबै हिसाबले सगरमाथा चढाउन कतिले ज्यान गुमाए, कतिले अपांगता व्यहोर्नुप¥योे, कति त विधवा बन्नुप¥योे, कतिले मानसिक दिग्दारी वा डिप्रेसनका कारण अनेकौं खाले रोग बोकेर हिड्नुपर्ने अवस्था सिर्जना भयो । यद्यपि टुटिखुइँ भने भिन्न भिन्न रुप र रङबाट फरमान जारी गर्ने अवस्थामा छ ।

हिजोको मन्दिर भत्काउने, क्रियापुत्री घिसार्ने, जनै छिदाल्ने, ऊ आज दुनियालाई नैतिक बन्धनमा बस्न बाचा वा कबुल गराउँदै हिँडेको देखिन्छ । ठाउँठाउँमा त टुटिखुइँले गायत्री मन्त्रको, कुलदेवी देवताको, आम ब्रह्म तत्वको संस्कार, संस्कृति र महत्वबारे भाषण छाँटीसकेको छ । हिजो उसले फैलाएको सर्वहारा आतंक र आज उसले फैलाउने गरेको आचरणगत आतंक पक्कै पनि उस्तै उस्तै हुन वा फरक छन् वा यी दुवै आतंकहरुका वीचमा तालमेल के छ त भन्ने कुरामा आम नागरिकहरु बडो असमन्जस्यतामा रुमलिलएको देखिन्छ । बहुरुपी टुटिखुइँको सबैखाले आतंकबाट जोगिने उसको रुप वा रंग पनि बुझ्नु जरुरी छ ।


के हो त टुटिखुइँको पृष्ठभूमि ?
उसको पूर्ववर्ती इतिहास हेर्दा दुनियाँको काट्टो वा प्रतिग्रह सैतेर वा टपरा लतारेर उसको बनिबुतालो चल्ने गर्दथ्यो । यहि संस्कार र संस्कृतिबाट अलग्गिन सक्ने संस्कार वास्तवमा उसँग थिएन र छैन पनि तर पनि बीचमा महान क्रान्तिकारी बनेको ऊ हाल आएर पूर्ववर्ति इतिहास र संस्कारसँगै जोडिन पुगेको देखिन्छ । हाम्रो समाजमा लोकोक्ति पनि छ कि, ‘जुन काठको बोक्रो हो, उसै सँग जोडिन्छ ।


‘असमर्थानां भवेत् साधु, बृद्धा नारी पतिब्रता’ को सिद्धान्त अनुरुप पनि हिजोको टुटिखुइँ अब सत्य निरुपण आयोगले धेर थोर कारबाही गर्ने सुइँको पाएपछि, आम नरसंहार वा चरम ज्यादती गरेवापत डण्डा थाप्लोमा ढिलो चाँडो बजारिन आउने चाल पाइ सकेपछि नैतिक शिक्षा र आचरणगत प्रचार प्रसारमा सामेल हुन आइपुगेको हो । तसर्थ, टुटिखुइँले साँस्कृतिक पहिचानको नारा लगाएर बाहुन समाज एकत्रित गर्नतर्फ पहल गर्नु उसको कुनै आकस्मिक योजना थिएन, यो त उसको पूर्व नियोजित वा योजनाबद्ध दिनचर्या नै हो ।

Advertisement

हिजो दुनियाँलाई लुटेर खाएको, तिर्छु/तिर्छु भनी विश्वास जितेर ल्याएको तर धम्क्याएर पचाएको दुनियाँको धनले पोलेपछि अब टुटिखुइँलाई कसले कुन दिन घेरा हालेर कुट्ने हुन् भन्ने जगजगी छँदैछ परिस्थितिको यहि पूर्वानुमानकै कारणले उसले हिजो आज ब्राह्मण संस्कार वा ब्राह्मण समाजको ओत लाग्न खोजेको हुन सक्छ । ब्राह्मण समाजको ओत लागेपछि त दुनियाँलाई ठगेर, ढाँटेर, उधारो मागेर, दोस्रो पालो ढुकुटी खाएपछि तिर्दै नतिरेर उल्टै समाजमा कायम गरेको हैकमबादको राजनीति अब बिक्दैन भन्ने थाहा पाइसकेपछि टुटिखुइँलाई बाहुन समाजको कोठी रोजेर सुतुरमुर्गले टाउको लुकाएझै टाउको लुकाउनु बाहेक अर्काे विकल्प थिएन तसर्थ उसका लागि बाहुन समाज साउने भेलमा बग्दै गरेको मानिसका लागि परालको त्यान्द्रो सरहको साहारा बन्न सक्तछ ।

टुटिखुइँले हिजो जिल्लामा गरेको दलाली, सरकारी सम्पत्ति माथिको दोहन, सार्वजनिक सम्पत्ति माथिको अतिक्रमण, खोलो पहिरो र बाटो माथिको बल मिच्याइँ, आर्थिक भ्रष्टाचार, परिवारवाद र चाकरीवाज आदि सबै खाले टायरहरुमा हावा खुस्किन पुगेपछि उसको अन्तिम बिसौनी वा चौतारी बाहुन समाज बन्न पुगेको रहेछ । हिजो उसले कर्मले, वचनले, व्यवहारले बाहुन र बाहुन सँस्कृतिमाथि गरेको चरम अपराध, अनास्था, बलात्कार, धोका बेइमानी र आतंकको घाउ अझै पुरिएको छैन ।

उसका विभिन्न आततायीपूर्ण रणनीतिक यातनाले समाजले अहिले पनि मुक्ति वा त्राण पाउन सकेको छैन । उसले हिजो बुर्जुवा शिक्षा समाप्तिको नाममा गरेको आन्दोलनबाट प्रभावित भएर पढाइ छाडेका र हाल अरबको खाडीमा बेल्चा हान्न बाध्य तुल्याइएका युवाहरुको दुख दर्द वा वेदनाको मूल्य पनि टुटिखुइँले चुक्ता गरेको छैन । त्यो अवस्थाको टुटिखुइँ आज समाजमा शान्तिदूतका रुपमा आफूलाई उभ्याएर फेरि के गर्न खोज्दै छ ? अनुसन्धानको विषय बनेको छ ।


टुटिखुइँको सैद्धान्तिक विचलन
विगत देखि वर्तमान सम्म बहुरंगी, बहुरुपी र बहुचारित्रिक सिद्धान्तमा प्रस्तुत हुन सक्ने टुटिखुइँसँग कुनै नीति वा सिद्धान्त वा योजना वा अडान पटक्कै छैन । टुटिखुइँ धर्म, शर्म, लाज घिन आदि सबैखाले अपाच्य तत्वहरुलाई पनि पचाउन सक्ने राक्षसी वा दानवी शक्ति भएको दैंत्य पनि हो । उसले केबल अबसरवाद, धनवाद, लुटवाद र आतंकवाद जस्ता वादहरु उसका लागि शोभादायक चरित्रहरु हुन् । यस बाहेक उसँग दया, माया, करुणा, सद्‍भाव र सहिष्णुता कुनै पनि खाले गुणहरु रहेका छैनन्, रहन पनि सक्दैनन् । त्यसैले त टुटिखुइँबाट कुनै न कुनै विषयमा सकारात्मक वा भलाईपूर्ण कृत्यको अपेक्षा गर्नु आँफैमा मुर्खता हुन जान्छ ।


टुटिखुइँ र उसका सन्तानहरु साँझ पर्नासाथ भट्टी स्नान गर्न तम्सिन्छन् भने बिहान उज्यालो भईसकेपछि श्राद्धको पुस्तक समातेर जजमान ठग्न पनि हाँजिर भई सक्दछन । हिजो पेटभर खान नपाउने र हदैसम्म टुटेका कारण टुटिखुइँ कहलिएको उसका लागि विगतको केही दशकदेखि यताको युग अत्यन्त स्वर्ण युग बनेको छ । यही उथलपुथलले टुटिखुइँ आजभोलि सुविधाभोगी पनि भएको छ र कता कता ऊ आतंकित हुन पुगेको छ र अत्तालिएको पनि छ । विगतमा उसले गरेका अपहत्या, लुटपाट, हिंसा र आतंक आजभोलि उसैका लागि कहालीलाग्दा भइसकेका छन् ।

उसका आफ्नै गतिविधिले टुटिखुइँलाई मानिसहरु भ्रष्ट, अराजक, सत्तालोलुप र अपराधी भन्न थालिसकेका छन् । उसका आफ्ना गतिविधिहरुले सत्य, बुद्धि र विवेकजस्ता गुणहरु लोप हुँदै गइरहेका छन् । सबै तरहबाट गुमनाम, डेट एक्सपायर भएको र जमानाले किनारामा फ्याँकिदिएको उसलाई अझै चेत फिरेको देखिँदैन । ऊ अझै सुध्रिएको छैन तसर्थ उसलाई तह लगाउन दुनियाँ जुरुक्क उठ्नुपर्ने आवश्यकता देखिन्छ ।

टुटिखुइँले हिजो आफ्नो तुम्बा भर्न निहित स्वार्थ बोकेर आँफै र आफ्ना अरौटे भरौटे मार्फत् मानिसलाई घरभित्र थुनेर आगजनी गर्ने, हातखुट्टा भाँच्ने, टाउको फुटाउने, क्रियापुत्री घिसार्ने, ब्राह्मण पण्डितहरुलाई जबरजस्त गाईको मासु कोच्याउने, खुलेआम गौ हत्या गर्ने, कुनै न कुनै हिसाबले धार्मिक भावनामा चोट पु‍र्‍याउने, सामान्य जिविका चलाएर बसेकाहरुलाई रक्सी बन्द गर्ने नाममा यातना दिने, कतिलाई त ज्यानै लिन पछि नपर्ने, कतिको सामान्य निम्नस्तरको जागिरबाट हात धुन लगाउने, आँफूसँग असहमत हुनेहरुलाई सम्पत्ति कब्जा गरी गाँउघरबाट निकाला गर्ने, साना किसान, बैंक वा सहकारी लुटेर करोडौं कुम्लयाउने, आँफूसँग असहमत हुनेहरुको जरै उखेल्न खोज्ने उसका गतिविधिहरु हाल आएर इतिहास भैसकेका छन् र पनि लुटेको धन कसरी सुरक्षित राख्ने हो भन्ने कुरामा टुटिखुइँ बहुत चिन्तित रहेको बुझिन्छ ।


हिजोको बदला लिने बेला भएको छ
बारीको लसुन, प्याज उखेल्नेदेखि घर आगजनीदेखि मानव विनाससम्मका अपराधहरुमा अब टुटिखुइँलाई बदला लिन सकिने अनुकुल परिस्थिति विकसित हुँदै गइरहेको छ । उसले दुनियाँलाई धम्क्याएर, बैंक लुटेर आर्जन गरेको सम्पत्तिको स्रोत खोजी गर्ने बेला भएको छ । अब, टुटिखुइँ पीडितहरुले आपसमा संगठित बनेर अघि बढ्ने हो भने टुटिखुइँको हिजोको लुटपिट वा गैर न्यायिक हत्या वापतमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी गर्न सक्ने मार्ग प्रशस्त छ ।

अर्काेतर्फ उसका अपहत्या वा ज्यादतीविरुद्ध हामीले सशक्त आवाज उठाउन सक्छौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत यस्तै मानवता विरोधि अपराध गर्नेहरुलाई सजायँ दिनका लागि गठित संस्था हो । हिजोका पीडितहरु आपसमा एकठाँउमा उभिने हो भने मात्र अन्तराष्ट्रिय फौजदारी अदालत गुहार्न हामीलाई अब कसैले छेक्न सक्दैन । यस अदालतमा पहुँच पुर्‍याउन हामीले निम्नानुसार प्रक्रियाहरु अबलम्बन गर्न सक्दछौं :


क) हिजो टुटिखुइँले जसजसलाई यातना पु‍र्‍याएको छ तततत् व्यक्तिहरुको नेतृत्वमा हिंसा प्रभावितहरुको फेहरिस्त संकलन गरी सञ्‍जाल गठन गर्ने,
ख) टुटिखुइँ र उसका आततायिहरुका ज्यादतीहरु उल्लेख गरी पीडितहरुको सञ्‍जालले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय काठमाडाैं मार्फत् अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी निवेदन पठाउने,
ग) आर्थिक लुटका बारेमा यदि टुटिखुइँ र टुटिखुइँ प्रवृत्तिहरुले ब्याजसहित साँबा फिर्ता गर्नेगरी प्रतिबद्धता लिने हो र माफी माग्ने हो भने पीडितहरुद्वारा माफी पनि दिन सकिने,
घ) हिजोका यातना र ज्यादतीका बारेमा अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्म साक्षी वा प्रमाण प्रस्तुत गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयको सहयोग लिने,
ङ) प्रमाणबाट दोषी देखाउन मात्र सक्यौं भने अन्तर्राष्ट्रिय युद्ध अपराध सम्बन्धी कानुन उल्लंघन गरेको आधारमा टुटिखुइँहरुलाई कठोर सजाय मात्र हुने होइन तपाईंहरुसँगबाट लुटेर, ठगेर वा धम्क्याएर लगेको सम्पत्ति ब्याजसहित फिर्ता हुन्छ तसर्थ टुटिखुइँहरुलाई हेग पु‍र्‍याउन सबै पीडितहरु एजुट हौँ ।
यो सृष्टि, यो धरतीमा अन्याय गर्नेहरु, लुटेराहरु, सृष्टिको स्वभाविक नियमलाई अबरुद्ध तुल्याउनेहरु, अमूल्य जीवनलाई समाप्त पार्नेहरु, दुनियाँ लुटेर आफू मोटाउनेहरु एक दिन अवश्य नै पनि कानुनको कठघरामा उभिनु पर्ने हुन्छ । यिनीहरुलाई कानुनको कठघरामा ठिंगु‍र्‍याउन अब लामो समय बाँकी छैन छोटो समयमै यिनीहरुलाई कानुनी दायराभित्र ल्याउन हिजोका पीडितहरु एकजुट हौं । अपराध गर्ने भन्दा अपराध सहनेलाई पाप लाग्छ भन्ने हामीहरुको परम्परागत मान्यताबाट पनि दृष्टान्त लिँदै अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउन आजैबाट संगठित हौँ ।


(वरिष्ठ अधिवक्ता शर्मा गण्डकीका मुख्य न्यायाधिवक्ता हुन् ।)

तपाईको प्रतिक्रिया