गण्डकीका १२ स्याटेलाइट अस्पतालको ‘अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ विकास सम्बन्धी कार्यशाला

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा, विश्व स्वास्थ्य संगठन नेपाल र दि पेन्डामिक फन्डको सहयोगमा गण्डकी प्रदेश अन्तर्गतका १२ वटा स्याटेलाइट अस्पतालहरूको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास सम्बन्धी दुई दिने कार्यशाला आज पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यशालामा गण्डकी प्रदेशका १२ वटा स्याटेलाइट अस्पतालहरूबाट ५० भन्दा बढी स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको सहभागिता थियो ।
पोखरामा सम्पन्न कार्यशालामा गण्डकी प्रदेश अन्तर्गतका १२ वटा स्याटेलाइट अस्पतालहरू — बागलुङस्थित बुर्तिबाङ अस्पताल, मुस्ताङको प्रादेशिक अस्पताल जोमसोम, तनहुँको दमौली अस्पताल, स्याङ्जाको पुतलीबजारस्थित प्रदेश अस्पताल, लमजुङ जिल्ला अस्पताल, म्याग्दीको प्रादेशिक अस्पताल बेनी, मनाङको प्रादेशिक अस्पताल चामे, पर्वतको कुस्मास्थित प्रदेश अस्पताल, गोरखाको आमपिपल अस्पताल, नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताल, कास्कीस्थित मातृ शिशु मितेरी प्रादेशिक अस्पताल, तथा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल —बाट स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी गरी ५० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।
कार्यशालामा जनस्वास्थ्य आपतकालीन अवस्था व्यवस्थापनका लागि समन्वय र सञ्चार प्रणाली, स्वास्थ्य आपतकाल सञ्चालन केन्द्र सञ्जाल, तथा हब र स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयहरूमा जानकारीमूलक प्रस्तुतीहरू दिइएको थियो।
सहभागीहरूले आफैंले विकास गरेका योजनाहरूको अभ्यासका लागि टेबलटप अभ्यास पनि सम्पन्न गरेका थिए। कार्यशालामा तयार गरिएका योजनाहरू अब सम्बन्धित अस्पतालहरूमा लागू गरिनेछ र अस्पताल कर्मचारीहरूलाई अद्यावधिक जानकारीसहित प्रशिक्षित गरिनेछ, जसबाट विपद् व्यवस्थापनको तयारीमा थप सुधार आउने विश्वास गरिएको छ।
कार्यशालाको समापन सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का थिए ।
त्यस्तै नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक डा. विकल श्रेष्ठ र डा. सुबाश न्यौपाने समेत समापन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
तपाईको प्रतिक्रिया