८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्ने

काठमाडौं । आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाखमा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको बताए ।
उनका अनुसार वैशाखमा वीर अस्पतालले सर्जिकल (सघन उपचार कक्ष) आइसीयुको सेवा विस्तार गर्नेछ साथै वीरको आइसीयूमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ । भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरू गर्दैछ ।
यसैगरी, अस्पतालमा जलन वार्ड, सिमुलेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ । भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्ने भएको छ, भने भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट सुरू गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साताबाट सञ्चालनमा ल्याउनेछ ।
धनगढीको गेटा अस्पतालले वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ । चैतमा १२ सङ्घीय अस्पतालले केही सेवा थप तथा विस्तार गर्ने कार्यक्रम रहेको थियो । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप सङ्घीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए ।
उनले भने , “केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन् । स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीको नीतिअनुसार काम भइरहेको छ ।”
तपाईको प्रतिक्रिया