नेपाल भूतपूर्व खेलाडी मञ्च : १२ महिना, १२ कार्यक्रम

पोखरा ।
पोखरा म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च २०५८ ले १२ महिनामा १२ कार्यक्रम गर्ने वार्षिक कार्ययोजना सोमबार सार्वजनिक गरेको छ । मञ्चले २५ औं स्थापना दिवस तथा रजत वर्ष महोत्सवको सन्दर्भमा वर्षभरीको हरेक महिना गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
विभिन्न खेलकुद र रचनात्मक क्रियाकलाप गरी रजत वर्ष मनाउने सन्दर्भमा मासिक/साप्ताहिक दौडलाई निरन्तरता दिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । रजत वर्षको क्रममा मञ्चले दृष्टिविहीन छात्रछात्रा दौड, आमा समूह दौड, पुनर्मिलन कार्यक्रम, अन्तर मावि वक्तृत्वकला, चित्रकला प्रतियोगिता, सञ्चारकर्मी दौड, जनप्रतिनिधि दौड, कर्पोरेट दौड, सवारी चालक दौड तथा ६० वर्षमाथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरेको छ ।
गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलको रुपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’समेत रजत वर्ष महोत्सवका अवसरमा सञ्चालन गर्ने मञ्चका अध्यक्ष गुरुङले बताए । मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले ‘स्वच्छ पोखरा, स्वस्थ्य पोखरेली’ भन्ने नाराका साथ साप्ताहिक र मासिक दौड गर्न लागेको बताए ।
‘पोखरा महानगरको आर्थिक वर्ष २०८१/०८२ नीति र कार्यक्रममा समावेश भएका कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका दौडको आयोजना गरेका छौं,’ उनले भने, ‘दौड संस्कृतिको विकास गरी पोखरा म्याराथन र समाज रुपान्तरणलाई सहयोग पुग्नेछ ।’ उनले पोखरामा १० देखि १९ वर्षका ८१ हजार बालबालिकामध्ये १ वर्षमा १५ देखि २०हजार युवालाई सहभागी बनाउने योजना सुनाए ।
उनले गत पुस २७ गतेदेखि सुरु भएको दौडको पोखरा २० भलाममा पुगेर चौथो संस्करणको कार्यक्रम पुरा भएको बताए । रजत वर्षको सन्दर्भमा ८ वैशाख २०८२ मा नेपाली खेलकुदमा विशेष योगदान पुर्याएका खेलकर्मीलाई नगद १ लाखसहित मेडल तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम छ ।
मञ्चका अध्यक्ष गुरूङको संयोजकत्वमा ३ सय ५१ सदस्यीय रजत वर्ष मुल आयोजक समिति गठन गरिएको छ । रजत वर्षको क्रममा स्मारिका प्रकाशन गर्नका लागि द्वितीय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ । खेलकुद पुरस्कार र स्मारिका विमोचन गरी रजत वर्ष महोत्सवको समापन गर्ने पूर्व अध्यक्ष गुरुङले जनाए ।
मञ्चले आगामी २ फागुन २०८२मा आयोजना गर्ने २० औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता प्रक्रिया सुरू गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भूतपूर्व खेलाडीको खेतप्रतिको समर्पण उदाहरणीय भएको बताए । पोखरा म्याराथन पोखरालाई चिनाउने आइकन बनेको महानगरले संरक्षकत्व ग्रहण गरेको जानकारी दिदै उनले खेलकुद पार्टी भन्दा माथिको राष्ट्रिय एकताको विषय भएको टिप्पणी गरे ।
उनले आसन्न पोखरा म्याराथनको लागि मितेरी सम्बन्ध कायम भएका १६ सहरलाई निमन्त्रणा गरिने बताए । पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि मञ्चले खडा गरेको अक्षयकोषका लागि पूर्व मेजर लक्ष्मीप्रसाद गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे ।
कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ, नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराका सस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, कोषाध्यक्ष हरिबहादुर बरुवाल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एम्बी आस्थामगर लगायतले मञ्चको रजत वर्ष महोत्सवबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया