भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन

समाधान संवाददाता २०८२ वैशाख ९ गते १५:१५

पोखरा । तनहुँको भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ। ५५ वर्षे थापाको सोमबार दिउँसो काठमाडौँस्थित किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Advertisement

नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाका अनुसार, मेखबहादुर थापा लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित थिए। कलेजो प्रत्यारोपणको तयारी भइरहेका बेला उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। आइतबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार निधन भएको हो। उनकी छोरी निशा थापा कलेजो दान दिन सहमत भएकी थिइन्।

थापाको पार्थिव शरीर सोमबार रातिसम्म भीमाद–२ स्थित निजी निवासमा ल्याइएको थियो । मंगलबार नगरपालिकामा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी लगायत नेताले उनको पार्थिव शरीरमा एमालेका झण्डा ओडाएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थापाले आफ्नो कार्यकालमा नगर विकासमा सक्रिय भूमिका खेलेका थिए। उनका एक छोरा र एक छोरी छन्।

गएको फागुन २३ गते उनकी पत्नी भोविमाया थापाको मिर्गौलाको रोगका कारण निधन भएको थियो। पत्नीको मृत्यु भएको डेढ महिनामै मेयर थापाको मृत्यु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया