नेकपा स्थापना दिवसमा कास्कीका ३ योद्धा सम्मानित

पोखरा । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७६ औं वर्ष प्रवेशको सन्दर्भमा नेकपा (एमाले) कास्कीले मंगलबार ३ कम्युनिस्ट योद्वालाई सम्मान गरेको छ । पार्टी स्थापना दिवसको क्रममा ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवचनका अलवा अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापनसमेत गरिएको छ ।
कास्कीको रुपा गाउँपालिका ७ का पुष्पकमल सुवेदी (मरणोपरान्त) पोखरा ११ का डा टुबराज बास्तोला, पोखरा १९ पुरञ्चौरका मीनराज पौडेललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान पञ्चिमाञ्चल क्याम्पसमा भएको स्ववियु चुनावमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई समेत सम्मान गरियो ।
एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न एमालेको प्रमुख भूमिका रहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ध्यान दिने उल्लेख गरे । ‘सुरु सुरुमा नेपालमा गणतन्त्र आउँछ भन्ने कल्पना गरिएको थिएन,’ उनले भने, ‘नेपालमा गणतन्त्र एमालेको कारण आएको हो ।’
उनले माओवादीका कारण गणतन्त्र आउने भए २०५२ सालमा आउने तर्क गरे । राजतन्त्रको पालामा अपराधपूर्ण काम गरेको व्यक्ति अहिले त्यही बाटोमा हिड्न खोजेको उल्लेख गर्दै उनले प्रतिक्रियावादीका अराजक गतिविधिलाई परास्त गर्ने गणतन्त्रका पक्षधरहरु एक जुटहुनु पर्ने बताए । उनले २०२० देखि २ं०३०सम्मको दशकका तत्कालीन माले क्रान्तिकारी दल गण्डकी धौलागिरीका संस्थापक पुष्पकमल सुवेदी सबैको साझा नेता भएको जानकारी दिए ।
उनले २०२६ सालको पृथ्वीनारायण क्याम्पसको पहिलो स्ववियु सभापति सुवेदीको कम्युनिस्ट पार्टीको स्थापनादेखि शिक्षा र सामाजिक जागरणमा योगदान रहेको बताए । उनले कास्कीका कम्युनिस्ट योद्वाको घर घरमा गएर अभिलेख तयार गरी पहिलो अधिवेशनको राजनीतिक प्रतिवेदनमा समावेश गरेको जनाए । उनले मबाट हामीमा परिणत नभए कम्युनिस्ट पार्टी चल्न नसक्ने तर्क गरे ।
समारोहमा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सचिव दर्शन लामा, उपसचिव सन्तु सुवेदी, पृथ्वीनारायण क्याम्पसका स्ववियु अध्यक्ष विष्णु पोखरेल, चिकित्साशास्त्र अध्ययन संस्थान पोखरा क्याम्पसका स्ववियु अध्यक्ष प्रतिभा भण्डारी, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका स्ववियु अध्यक्ष अभिषेक शर्मा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया