शिक्षक आन्दोलनमा निजामतीको साथ, १२ को परीक्षा वैशाख २१ देखि

पोखरा । शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो । निजामती कर्मचारीका संगठनले पनि शिक्षककै आन्दोलनलाई साथ दिएपछि परिघटना मोडिएको हो ।
त्यहीकारण शिक्षामन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका थिए । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए ।
बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।
तर नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक/कर्मचारीलाई आहवान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशनमा रहेको महासंघले चैत २५ बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।
तर आन्दोलित शिक्षकहरूसँग सहमति प्रयासमा जुटेकी शिक्षा मन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्रीको असहयोग हुँदा सोमाबर राजीनामा दिइसकेकी छन् ।
कक्षा १२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापानसहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारित थिए ।
परीक्षामा एक हजार ८ सय देखि २ हजार कर्मचारी, हरेक केन्द्रमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको थियो ।
तपाईको प्रतिक्रिया