महिला पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम

समाधान संवाददाता २०८२ वैशाख १० गते ५:३२

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मंगलबार पोखरामा डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।

Advertisement

महिला पर्यटन व्यवसायीलाई लक्ष्य गरी आयोजित तीन दिने तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यावसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिने बताइन् ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको बजारीकरणममा नविनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थल निर्माणका सम्बन्धमा दोषीलाई कारवाही गनुपर्ने तर यसलाई जोडेर समग्र पोखरालाई बदनाम गर्न नपाइने धारणा राखे ।

Advertisement

पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पोखरामा पर्यटकको बसाई लम्ब्याउने किसिमका गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

तालिममा पर्यटन व्यवसायमा संलग्न ६० जना महिला पर्यटन व्यवसायी सहभागी रहेको ओटेफका महासचिव एवम् कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया