रामज्योति माविमा कम्प्युटर ल्याब स्थापना

पोखरा ।
कास्की जिल्ला पोखरा महानगरपालिका–२६ स्थित रामज्योति माध्यमिक विद्यालयमा रोटरी क्लव अफ पोखरा फिस्टेल, रोटरी क्लव अफ पोखरा मिड टाउन, रोटरी क्लव अफ नियोट्रिक हङकङ, एडुटेक नेपाल र विद्यालयको सहकार्यमा विद्यालयका विद्यार्थीका लागि अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
उक्त कम्प्युटर ल्याबको उदघाटन रोटरी क्लब अफ नियोट्रिक हङकङका प्रतिनिधि र रोटरी क्लब अफ पोखरा फिस्टेलका प्रतिनिधि विनोद कोइरालाद्वारा गरिएको हो ।
कम्प्युटर ल्याब उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष सूर्यनारायण बराल, एडुटेक नेपालका क्षेत्रीय निर्देशक श्री आकाशकुमार दास लगायतले कम्प्युटर ल्याबको महत्व र उद्देश्यबारे प्रकाश पारे । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य गुमानाथ लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा, विद्यार्थी अभिषेक बिकले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका अवसरमा हङकङबाट आएका प्रतिनिधिहरूद्वारा विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो भने विनोद कोइरालाले विद्यार्थीका लागि खेलकुद पोशाक प्रदान गरेका थिए । सहयोगदाताहरूलाई विद्यालयबाट सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया