जसले लोकतन्त्र ल्याए, उसकै बेवास्ता

धनबहादुर गुरुङ २०८२ वैशाख ११ गते ९:१२

धनबहादुर गुरुङ, पोखरा ।
राजतन्त्र हटाउनुपर्छ भन्दै पोखराको विभिन्न ठाउँबाट निकालिएको जुलुस महेन्द्रपुल पुग्यो । अहिले नेपाल टेलिकमको कार्यालय रहेको माथिल्लो तलामा सेना तैनाथ थिए । टेलिकम कार्यालयको झ्यालमा कसैले ढुंगा प्रहार ग¥यो । अघिल्तिर आन्दोलनकारी र प्रहरीबीच पनि ढुंगा हानाहान भइरहेको थियो ।

Advertisement


‘२०६२ चैत २४ गतेदेखि सशक्त रुपमा आन्दोलनमा लागेका थियौँ,’ सहीद भीमसेन दाहालका साथी शिव पौडेलले सम्झिए, ‘२६ गते भीमसेन आन्दोलनमा जाने होइन भनेर निस्किहाले, म अलि पछि हिँड्दै आन्दोलमा गएको हो ।’ आफू नपुग्दै महेन्द्रपुलमा गोली चलेको त्यसमा साथी भीमसेन दाहाल परेको उनले सुनाए । ‘मलाई एकजनाले फोन गरे, भीमसेनको थर के हो भनेर सोध्नुभयो । मैले दाहाल हो भनेँ । पछि फेरि फोन गरेर बुझ्दा गोली लागेको छ भन्ने खबर पाएँ,’ उनले सम्झिए, ‘गण्डकी हस्पिटल लगिएको रहेछ । त्यहाँ गएर बुझ्दा निधन भइसकेको भन्ने भयो । घाँटीमा गोली लागेको रहेछ । एकातिरबाट लागेको गोली अर्कोतिर निस्किएको थियो ।’


पोखरा बस्ने काभ्रे उग्रचण्डीका भीमसेन दाहालको त्यस दिन घटनास्थलमै ज्यान गयो । उनको नाम जनआन्दोलन २०६२÷०६३ को पहिलो सहिदका रुपमा दर्ज भयो । ‘उनी सामान्य परिवारका व्यक्ति थिए । हाम्रो बीचमा कुरा हुँदा उनी खरो उत्रन्थे,’ शिवले भने, ‘उनी आन्दोलनमा होमिए, परिवर्तनका लागि गोली खान तयार भए, सहिद बने । तर, आन्दोलनले ल्याएको परिवर्तन हेर्न पाएनन् ।’


भीमसेनको निधनपछि जनआन्दोलन झनै जुर्मुराएको थियो । नयाँ नेपाल बनाउने सपना र आकांक्षा बोकेको हरेक नागरिकको आँखाले अग्रगामी परिवर्तन खोजिरहेको थियो । सारा नेपालले शान्ति, समृद्धि र न्यायका लागि आवाज उठाएको थियो ।
अन्ततः जनताको जीत भयो भीमसेनको निधनको १६ दिनपछि जनताको शक्तिसामु राजा ज्ञानेन्द्र झुक्न बाध्य भए । राजाले जनताको नासो जनतालाई नै फिर्ताको घोषणा गरे । त्यस १९ दिने आन्दोलनमा २५ जना सहिद भएका थिए । देशभर साढे ७ हजार नागरिक घाइते भएका थिए । तीमध्ये एक हुन्, ढाकाराम पौडेल । उनी जसको बलमा लोकतन्त्र आयो, उसैलाई राज्यले बेवास्ता गर्दै गएको बताउँछन् ।


जनआन्दोलनबाट निरंकुश राजतन्त्रलाई घुँडा टेकाउने नेतृत्वप्रति नै पछिल्लो समय जनताको असन्तुष्टि रहेको जनआन्दोलनका घाइते पौडेलले बताए । ‘जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् । गणतन्त्र आएको अनुभूति गर्ने आशाको किरण नभेटेपछि जसको कमान्डमा गणतन्त्र आयो उनीहरुप्रति नै रुष्ट छन्,’ उनले भने, ‘यो भनिरहँदा गणतन्त्रको विकल्प राजतन्त्र कहिल्यै हुन सक्दैन । तर, यिनीहरु सच्चिएर नेपाली जनताले अनुभूत गर्ने गरी शासन सञ्चालन गर्नुपर्छ ।’ राजनीतिक दलको विकल्प राजनीति नै रहेकाले मुलुकको आवश्यकता अनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

सरकारले जनआन्दोलनका घाइतेलाई प्रदान गरेको परिचयपत्रका आधारमा निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी प्रदान गर्ने र यातायातमा छुट दिने लगायत अन्य सुविधा प्रदान गर्ने निर्णय गरे पनि कार्यान्वयन छैन


उनले जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वयन समिति कास्कीको २ कार्यकाल नेतृत्व गरे । तर, आफूहरुको मागमा सरकार बेखबर बनेको उनी बताउँछन् । ‘पछिल्लो अवस्थामा खोला तरेपछि लौरो बिर्सने काम भएको छ । जनआन्दोलनका बेला सहिद बनेकाको परिवार र घाइतेलाई राज्यले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘लोकतन्त्र आएको २० वर्षसम्म पनि यहाँनिर राहत पायौं भन्ने नै भएन । लोकतन्त्र ल्याउने तत्कालीन कमान्डरहरु त बिचौलिया, तस्करको चंगुलभित्र फसेका छन् भन्ने चर्को जनगुनासो छ ।’


समितिले जनआन्दोलनका घाइतेलाई निशुल्क शिक्षा, घाइतेका सन्तानलाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था, उनीहरूका परिवारलाई निशुल्क स्वास्थ्य उपचार, घाइतेको निशुल्क जीवन बिमाको माग राखेको थियो । तत्कालीन सरकारले जनआन्दोलनका घाइतेलाई प्रदान गरेको परिचयपत्रका आधारमा निशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी प्रदान गर्ने र यातायातमा छुट दिने लगायत अन्य सुविधा प्रदान गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको उनको गुनासो छ । ‘हामीले संस्थाको पहलमा धेरै माग गरेका थियौं । तर, राज्यले नीतिगत रुपमा व्यवस्था नै गर्न सकेन,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएको रोजगारीमा प्राथमिकता, निशुल्क शिक्षा र स्वास्थ्य विषय पनि कार्यान्वयन नै भएन ।’


वैशाख ११ गते १८ औँ लोकतन्त्र दिवस मनाइँदैछ । तर जनतामा कुनै रौनकता, उत्साह र उमंग नरहेको न्यायका लागि द्वन्द्व पीडित संगठन कास्कीका अध्यक्ष दूधराज अधिकारीले बताउँछन् । ‘व्यवस्था परिवर्तनले मान्छेलाई कुनै फरक पर्दैन अवस्था परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘खसीको मासु देखाउने अनि अर्कै केहीको मासु बेच्ने जस्तो पारा अहिले चलिरहेको छ ।’ अहिले जनआक्रोश र निराशा चुलिँदो छ । जनताका चाहना सरकार र सरकारी संयन्त्रले काम गर्नै नसकेको उनले भनाइ छ ।


सरकारले आफू कुन धरातलमा छु भन्ने नै नबुझेको उनको भनाइ छ । ‘लोकतन्त्र ल्याउन कति सहिद बनेको छन् । कति बेपत्ता, छन् । दिनानुदिन औषधि खानुपर्ने अवस्थाका घाइते, अपांग छन्,’ उनले भने, ‘उनले भने, ‘त्यस्ता अवस्थाका व्यक्ति माथि राजनीति गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप (टिआरसी) विधेयक माथि अनि भागबन्डाको राजनीति गर्दै सत्ता सञ्चालन भइरहेको छ । यो लोकतन्त्रले दिएको देन हैन ।’ लोकतन्त्रमा नेताले आफ्ना जनतालाई सर्वोपरी ठान्ने खालको हुनुपर्नेमा उनको जोड थियो ।


जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम पनि राज्यले आफूहरुको मागको कुनै सुनुवाइ नगरेको बताए । घाइतेहरुको उपचारमा राज्यले ध्यान नदिएको उनले गुनासो गरे । गण्डकी प्रदेश सरकारबाट घाईतेका लागि स्वास्थ्य बिमा र पोखरा महानगरले सिमित रकमबाहेक अरु उपलब्ध नगराएको उनले सुनाए । ‘नेताहरुले आफू पदमा हुँदासम्म केही गर्नुहुन्न । जब सरकारबाट बाहिरिएपछि सडकबाट गर्नुपर्छ भनेर बोल्नुहन्छ । यो गम्भीर आपत्तिको विषय छ,’ उनले भने, ‘हामीले धेरै प्रयत्न गरेपछि प्रदेश सरकारले बिमा सम्मको कार्यक्रम गरिदिनुभएको छ । महानगरपालिकासँग हारगुहार गरेर २०/३०/५० दिने गरेको थियो । योभन्दा अघि १ लाख रुपैयाँको हाराहारीमा सहयोग दिएपछि घाइतेहरुलाई धान र मकै कुट्ने मेसिन वितरण गरेका छौं ।’


यो वर्ष पनि महानगरले केही न्यून रकम उपलब्ध गराएको गौतमले सुनाए । यसले ठूलो कार्यक्रम गर्न नपुग्ने उनको भनाइ छ । यसबाहेक पोखरा महानगरले नै सहिद भीमसेन दाहालको छोरालाई एबिबिएस पढ्न रकम विनियोजन पनि गरेको छ । तर, यो सहयोग लोकतन्त्रका घाइते र सहिद परिवारलाई नपुग्ने उनले सुनाए ।


चैत २६ गते सहिद भीमसेन दाहालको स्मृतिमा दीप प्रज्जवल र परिचर्चा कार्यक्रम गरेको समितिले बिहीबार लोकतन्त्र स्थापना भएको दिनलाई सम्झेर गैरसरकारी संस्था महासंघसँग मिलेर बृहत प्रभातफेरीसहित गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए ।


जनता जुन आशा र उत्साहका साथ जनआन्दोलनमा होमिएका थिए, आज सोचेजस्तो पटक्कै नभएको नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल बताउँछन् । ‘जताततै निराशा, आक्रोश, आवेगको आगो बलिरहेको छ । जनताले सोंचेजस्तो र उपलब्धीमुलक लोकतन्त्र देखिएको छैन्,’ उनले भने, ‘बरु, झन्झन् कष्टकर बन्दै गएको छ । नेता र तिनका आसेपासेको भर्तीकेन्द्र भएको छ ।’


१९ वर्षपछि एउटा यस्तो जमात तयार भइसक्यो, जो राजतन्त्र फर्काउन संघर्षरत छ । यस्तो खालको लोकतन्त्रसँग आम नागरिक खुसी हुने अवस्था नरहेको संयोजक पौडेलको भनाइ छ । पद, पैसा र शक्तिको आहालमा नेता र दल चुर्लुम्म डुबेका कारण यो अवस्था आएको उनले बताए । राजनीति देश र जनता केन्द्रीत भई योग्य र सक्षम व्याक्ति नेतृत्वमा जानुपर्ने उनको सुझाव छ ।

सहिदको सालिक पनि हरायो
२०६३ सालको वैशाख ११ गते लोकतन्त्र स्थापना भएको पृष्ठभूमिका १९ दिने आन्दोलन छ । त्यो आन्दोलनको पहिलो सहिद पोखराका भीमसेन दाहाल हुन् । लोकतन्त्र आइसकेपछि दाहालको सम्मानमा उनले सहादत प्राप्त गरेको महेन्द्रपुलमा सालिक स्थापना गरिएको थियो । महेन्द्रपुललाई भीमसेन चोकसमेत नामकरण गरियो । तर अहिले सहिद भीमसेनको सालिक महेन्द्रपुलमा छैन ।


दाहालको सालिक महानगरले डम्पिङ साइटमा लगेर फालेको आरोप लगाउँछन् जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वयन समिति कास्कीका अध्यक्ष शेखर गौतम । ‘भीमसेन दाहालको सालिक अहिले जामुटबोटस्थित सहिदपार्कमा छ । त्यो सालिक हाम्रो संस्थाले नै बनाएको हो,’ उनले भने, ‘पहिला भीमसेन चोक महेन्द्रपुलमा भएको सालिकचाहिँ नगरपालिकाले हामीसँग सल्लाह नगरी उठाएर डस्बिनमा लगेर फालेको छ । जुन ठाउँमा भीमसेन दाहालले सहादत प्राप्त गरे, त्यही ठाउँमा त्यो सालिक राख्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया