कोटिहोम प्रचारमा साइकल र्याली

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७, बिरौटामा सञ्चालित गण्डकी शत कुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउन्डेसनले बिहीबार साइकल र्याली गरेको छ ।
बिरौटास्थित कोटीहोम स्थलबाट बिहान ७ बजे सुरु र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बागलुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेस्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुंगा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटीहोम स्थलमा पुगेर समापन भएको थियो ।र्यालीमा सयौं स्थानीयवासी, युवाको सहभागिता थियो ।
महायज्ञका संकल्पकर्ता विजय कृष्णमूर्तिले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गरेको बताए । ‘यो ¥यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवद्र्धन, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पु¥याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ,’ उनले भने ।
मानवसेवा फाउन्डेसनका अनुसार कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । वैशाख १२ गते मोटरसाइकल र्याली, वैशाख १३ गते ट्याक्सी र्याली, वैशाख १४ गते फेवातालमा डुंगा र्याली, र वैशाख १६ गते वृहत् कशेली यात्रा आयोजना हुने कार्यक्रम छ ।
४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घि, तिल, तेल, देवदारु, श्रीखण्डलगायत सामग्री लिएर आउन अनुरोध गरिएको छ । कोटिहोम स्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउन्डेसनले जनाएको छ ।
कोटिहोममा अनुराधा पाण्डेले भागवत कथा प्रवचन चैत २९ बाट दिन सुरु गरेकी थिइन् । देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । शुक्रबारदेखि देवी प्रतिभाले भागवत प्रवचन दिनहुँ दिइरहेकी छिन् ।
कोटिहोम आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा आयोजना हुनेछ ।
महायज्ञ कार्यक्रमलाई भव्य बनाउने तयारी तीव्र गतिमा चलिरहेको छ । यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन् – जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित छन् ।
गण्डकी कोटीहोम महायज्ञले केवल स्थानीय जनताको धार्मिक विश्वाससँग मात्र सम्बन्ध नराखी, यो कार्यक्रम क्षेत्रीय धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । पोखरा आफैँ पर्यटकीय राजधानीका रूपमा चिनिन्छ, र यस्ता धार्मिक अनुष्ठानहरू पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण आधार बन्न सक्छन् ।
तपाईको प्रतिक्रिया