सम्पादकीय—राजनीतिक परिवर्तनको अनुभूति भएन

विसं २०६२/६३ को आन्दोलनको बलले तत्कालीन राजाको प्रत्यक्ष र निरंकुश शासनको अन्त्य गर्यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसदको पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरंकुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
नेपालमा गणतन्त्र स्थापनाका लागि आधार सिर्जना गर्ने १९ वर्ष अघिको त्यो दिन अर्थात आजको दिन साँच्चै नेपालको इतिहासमा गर्व गर्ने लायक दिन थियो । नेपाली जनताको १९ दिने अथक प्रयत्न र बलिदानबाट शाही राजतन्त्र ढलेको थियो । तर, बिडम्वना लोकतन्त्र ल्याउन बलिदान गर्ने, घाईते हुनेहरूको पीडा वर्णन गरेर नसकिने अवस्था छ । जुन उद्देश्यका लागि लोकतन्त्र ल्याउने काम भयो, सोही अनुसारको काम हुन सकेको छैन ।
जनआन्दोलनको जगमा भएको निर्वाचनबाट बनेको संविधानसभाको पहिलो बैठकले २०६५जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । संविधान सभा मार्फत नेपालको संविधान जारी भएपश्चात संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्दै मुलुकको दिगो विकास तथा आर्थिक समृद्धिमा सबै शक्ति अग्रसुर हुनु पर्नेमा नेपालका राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा कुनै सुधार हुन सकेको छैन ।
लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा कयौं शहिद भए । अझै धेरै त घाईते भए । त्यति ठूलो ऐतिहासिक आन्दोलनमार्फत प्राप्त गरेको लोकतन्त्रको दिर्घायूका लागि जसरी काम हुनुपथ्र्यो, त्यो हुन सकेन । मुलुकको परिवर्तनका लागि यति धेरै त्याग र सहादती भयो तर अहिलेसम्म आम जनताको अपेक्षा र अभिलाषा पूरा हुन सकेको छैन् ।
जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि सक्दैन । देशमा राजनीतिक स्थीरताको ढोका खोल्दै आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रा तय गर्नु आवश्यक छ ।
लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति सयौं नागरिकले आफ्नो जीवनको कुर्वानी गरेका छन् । सर्यौ नागरिक घाइते भएका छन् । जन आन्दोलनको शहिद परिवार तथा घाइते लगायत परिवर्तनकारी जनताको भावनाको समुचित सम्बोधन र नेपालको उज्वल भविष्यका निम्ति राजनीतिक दल र आम नेपााली जनसमुदायमा एकता र दृढ संकल्पको विकल्प छैन ।
देशको आर्थिक अवस्थाको सुधार, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नेदेखि राजनीतिक, कुटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गर्न सक्छ । जनउत्तरदायी नेतृत्व र शासन प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्छ ।
राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु सबै राजनीतिक शक्तिको राष्ट्रिय कार्यभार हो । राजनीतिक व्यवस्था फेरिएको छ । जनचाहाना अनुसार काम हुन सकेको छैन । आधारभूत तहका जनताको जीवन स्तरमा सुधार हुन सकेको छैन । राजनीतिक व्यवस्था फेरिएसँगै जनताको अवस्था फेरिएको खण्डमा मात्र लोकतन्त्र संस्थागत हुन सक्छ ।
तपाईको प्रतिक्रिया