नारायणगढ–बुटवल सडक विस्तार छिटो सक्न हान गण्डकीको माग

समाधान संवाददाता २०८२ वैशाख १२ गते १५:०८

पोखरा ।

Advertisement

होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।

हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले विज्ञप्ति जारी गरी सडक मार्गको विस्तार र स्तरोन्नतीमा भएको ढिलाईले पर्यटक र समग्र यात्रुवर्गले हैरानी खेप्नु परेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘यस खण्डमा निकै अघि काम सुरु भए पनि स्तरोन्नती कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनु परेको छ । सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन् । सडक विस्तार कार्यमा भएको ढिलाई, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यसखण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्रहीले ठूलो कष्ट उठाउनु परेको छ । अर्को तर्फ दुर्घटनाको जोखिम त छँदै छ । ’

पर्यटन क्षेत्र अगाडि बढ्न चाहिने केही महत्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठूलो महत्व राख्छ नै । तर नेपालमा सडक मार्गहरुको निर्माण, विस्तार र स्तरोन्नतीमा निकै ढिलाई हुने गर्दा समग्र आर्थिक र पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने गरेको हानले जनाएको छ ।

Advertisement

गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमि विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपथ्र्यो तर तेस्राे पटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा प्रगति ६३ प्रतिशत मात्र हुनु दुःखद भएको हानले उल्लेख गरेको छ ।

यति मात्र नभई यो खण्डको अनुगमनका क्रममा केही दिन अघि स्वयं भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत दाउन्नेको जाममा रोकिनुपर्ने अवस्था सिर्जना हुन पुगेको र एस्कर्टिङलाई पनि दाउन्ने खण्ड छिचोल्न चार घण्टा लागेको खबरहरु सार्वजनिक भएका थिए । यसैगरी विदेशी पर्यटकले यो सडकको दुर्गतीबारे सामाजिक संजालमा श्रव्यदृष्य सामग्रीहरु पोष्ट गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालप्रति नकारात्मक धारणा सिर्जना हुने जोखिम बढेर गएको भन्दै हानले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ– ‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तारोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला, प्रश्न स्वभाविक छ । अतः सडकको विस्तार कार्यलाई तिव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नती कार्य नसकिंदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल संघ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ ।’

तपाईको प्रतिक्रिया