नबिल एसएसइ चौथो ग्रुपको बिदाइ

समाधान संवाददाता २०८२ वैशाख १२ गते २०:४५

पोखरा ।
नबिल बैंकको सहयोगमा ला ग्राण्डी इन्टरनेशनल कलेजले सञ्चालन गरेको नबिल स्कुल अफ सोसियल इन्टरपियनरसिप (एसएसइ) कार्यक्रमको चौथो ग्रुपका विद्यार्थीहरुलाई विदाइ गरिएको छ ।
कलेजमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक उद्यमशिलताका लागि नबिल स्कुलका २२ जना विद्यार्थीहरुलाई कोर्ष सम्पन्नताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । सन् २०२४ नोभेम्वरदेखि सुरु भएको कोर्ष जनवरी १८ मा सकिएको थियो । ३ महिनामा १४ दिन हुने कोर्षमा विभिन्न व्यावहारिक ज्ञान सिकाइने कलेजका प्रिन्सिपल किरण केसीले जानकारी दिए । यो पटकको कोर्षका दौरान चाडपर्व धेरै परेकाले केही समय पछि धकेलिएको उनले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले एसएसइ कोर्षबाट बेरोजगारीको समस्या कम हुने विश्वास व्यक्त गरे । कुनै संस्थाले सामाजिक उत्तरदायित्वको रकम शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको निती अनुरुप नबिल बैंकले उक्त रकम सही ठाउँमा सदुपयोग गरेको बताए । बेरोजगार हुनुको मुख्य कारण शैक्षिक अवस्था भएकाले यो कोर्ष अति महत्वपूर्ण भएको उनको भनाइ छ ।
नबिल बैंक गण्डकी प्रदेशका प्रमुख हरि ढकालले बैंकले देशमै अवसर सृजना, सामाजिक कल्याण र मुख्य गरी युवाहरूलाई उध्यमशिलतामा जोड्न यो परियोजना सुरु गरेको बताए । बैंकले सातै प्रदेशका विभिन्न विश्वविद्यालयहरूमा तालिम प्रदान गर्दै आएको उनले जानकारी दिए । आगामी दिनमा यस परियोजनालाई अझै परिस्कृत रुपमा अघि बढाउने उनले योजना सुनाए । ‘नबिल बैंकले केहि नयाँ काम गर्न सकिन्छ की भनेर यसको अभ्यास सुरु गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा यसलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर लाग्छौं ।’
कार्यक्रममा आमा एग्रो फार्मकी संस्थापक गिता लामिछाने, प्रशिक्षक कल्पना ज्ञवाली, एसएसइ कार्यक्रम संयोजक अमृत पौडेल, नबिल बैंक मालेपाटन शाखा प्रमुख सन्तोष अधिकारी, प्रशिक्षार्थीहरु यामकुमारी परियार र राजन पौडेलले एसएसइ कार्यक्रममा उद्यमशिलताका लागि फलदायी रहेको बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया