पोखरा ८ मा एमालेको ८ वटा टोल कमिटी

समाधान संवाददाता २०८२ वैशाख १२ गते २०:४४

पोखरा । ल वडा केन्द्रित पार्टी निर्माण अभियानको क्रममा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा पार्टी कमिटी ८ पोखराले ८ वटा टोल कमिटी गठन गरी पार्टी कमिटीलाई चलायमान बनाएको छ । अभियानको सन्दर्भमा एयरपोर्ट ज्ञानकुञ्ज इन्द्रपुरी, कुँवरटोल, बगालेटोल, जनप्रिय प्रतिभामार्ग, त्रिशक्तिटोल, नयाँ बजार सभागृहपथ टोल, शिवालय नागबेलीटोल, सिर्जना जाल्पाटोल कमिटी गठन गरेर पार्टीलाई चलायन बनाएको वडा कमिटीका अध्यक्ष दिपकराज घिमिरेले जानकारी दिए ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको सन्दर्भमा नयाँ वर्ष २०८२को शुभकामना आदान प्रदान, २०८२ सालको भित्तेपात्रो सार्वजनिक गर्नुका साथै टोल कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराइएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै आम नेपाली जनताको पक्षमा पार्टीले गर्व गर्ने काम गरेको दाबी गरिन् ।

उनले एमालेले गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण कार्यक्रम गरेको जानकारी दिइन् । ‘जनप्रतिनिधि शासक नभएर जनताको सेवक हो,’ उनले भनिन्, ‘महानगर नीति तथा कार्यक्रम र बजेटको तयारीमा छ । नीति तथा कार्यक्रम र बजेटमा वडाका विकास निर्माणका सवाललाई समेट्छौं ।’ उनले टोल कमिटीका सदस्यले निश्पक्ष र तटस्थ भएर जनताको पक्षमा काम गर्न सुझाव दिइन् ।

एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यले वडा कमिटीले कार्यकर्तालाई विचारले प्रशिक्षित र संगठित गर्ने काम गरेको बताए । टोल कमिटी राम्रो भए वडा कमिटी राम्रो हुने संकेत गर्दै उनले टोल कमिटी क्रियाशील नभए पार्टी राम्रो नहुने तर्क गरे । उनले विकास निर्माण र जनताको आयआर्जन र जीविकोपार्जनको पक्षमा काम गर्न टोल कमिटीलाई सुझाव दिए । एमाले वडा कमिटी पोखरा ८का अध्यक्ष घिमिरेले एमालेको आधारभूत तहको संरचना नबिग्रेको बताए ।

कार्यक्रममा एमालेका जिल्ला कमिटी कास्कीका सदस्यहरु कमला गिरी र रिना थापा, पोखरा महानगर कमिटीका सचिवालय सदस्य ईश्वरप्रसाद सुवेदी, पोखरा महानगरपालिका वडा नम्बर ८का अध्यक्ष रुद्रनाथ बराल, सामाजिक विभागका केन्द्रीय सदस्य इन्दिरा पौडेल, वडा पार्टी कमिटी ८का उपाध्यक्ष गोविन्द बराल, सचिव चन्द्र गिरी लगायतले पार्टीको संगठन सुदृढीकरणको बारेका बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया