नेपाल सुपर लिग फुटबल

उपाधिका लागि पोखरा थण्डर्स ललितपुर सिटीसँगै भिड्दै

समाधान संवाददाता २०८२ वैशाख १३ गते ७:५३

पोखरा । स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न दोस्रो क्वालिफायर खेलमा धनगढी एफसीलाई १-० ले हराएसँगै पोखरेली टोलीले शनिबार हुन लागेको एनएसएल फाइनलमा पहिलो पटक खेल्न लागेको हो।

Advertisement

कला, साहित्य र प्राकृतिक सौन्दर्यको जीवन्त मैदानका रूपमा परिचित रमणीय शहर पोखराको खेलकुद इतिहास पनि उत्तिकै समृद्ध छ। कन्दरा, नेपथ्य जस्ता ब्याण्ड र अमृत गुरुङ, झलकमान गन्धर्व जस्ता कालजयी स्रष्टाको आवाज र सङ्गीतले गुन्जायमान भूमि पोखराले भलिबलकि सिपोरा गुरुङ, क्रिकेटका करण केसीसँगै फुटबलका राजु गुरुङ, दिपक राई, नवीन गुरुङ र आयुष घलानजस्ता राष्ट्रिय टिमका खेलाडीहरू जन्माएको छ। पोखराले आफ्ना सबै पहिचानसँगै आज फेरि एकपटक फुटबलका माध्यमबाट आफ्नो अर्को पहिचानलाई उजागर गर्ने मौका पाएको छ।

पोखराको फुटबल इतिहास लामो, रोचक र प्रेरणादायक छ। हिमाली सौन्दर्यको काखमा रहेको यो सहरमा फुटबलको सुरुवात सन् १९५० को दशकतिर भएको मानिन्छ। प्रारम्भमा नेपाली सेनाका क्याम्पहरूमा खेलिने फुटबल बिस्तारै सर्वसाधारणबीच लोकप्रिय हुँदै गयो। पोखराको फुटबल इतिहासमा उल्लेखनीय मोड सन् १९८० को दशकपछि आएको देखिन्छ, जब स्थानीय क्लबहरू सक्रिय रूपमा गठन हुन थाले। त्यसबेला पोखरामा स्थापित भएका क्लबहरूले फुटबल प्रशिक्षण र प्रतियोगिता आयोजना गरेर युवाहरूलाई खेलतर्फ आकर्षित गरे। यहाँको “सहिद स्मृति क्लब”, “गण्डकी क्लब”, “पोखरा फूटबल क्लब” र “सहारा एकेडेमी” जस्ता संस्थाहरूले पोखराको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।

सन् १९९८ मा पोखरामा पोखरा रंगशालाको निर्माणसँगै यहाँ फुटबल गतिविधिमा झनै तीव्रता आयो। पोखरा रंगशाला केवल पोखराका लागि नभई गण्डकी प्रदेशकै लागि मुख्य फुटबल खेल मैदान बन्यो। यही रंगशालामा “आहा! रारा गोल्डकप”, “पोखरा कप” जस्ता राष्ट्रियस्तरका प्रतिष्ठित प्रतियोगिताहरूको आयोजना सुरु भयो। आहा! रारा गोल्डकप प्रतियोगिता पोखराको फुटबलको मुटु मानिन्छ। यस प्रतियोगितामा देशका प्रमुख ‘ए डिभिजन’ क्लबहरू सहभागी हुन्छन्, जसले पोखराका दर्शकलाई स्तरीय फुटबल हेर्ने अवसर दिन्छ। आजको दिनमा पनि पोखरामा फुटबलप्रति युवाको आकर्षण उल्लेखनीय छ। विद्यालय र कलेज स्तरदेखि नै फुटबल प्रशिक्षण हुने भएकाले नयाँ प्रतिभाहरू उत्पादन भइरहेका छन्। हालका वर्षहरूमा पोखरामा फुटबल व्यवसायिक मोडमा पनि गएको छ। फुटसल, फुटबल एकेडेमी, निजी क्लब र प्रायोजकहरू मिलेर फुटबललाई नयाँ उचाइमा पुर्याउन लागिपरेका छन्। यसले गर्दा फुटबल अब केवल खेलमात्र नभई युवाहरूको करिअर बन्न थालेको छ।

सहारा एकेडेमीका आयुष घलान जस्ता युवा खेलाडीले आज देश विदेशमा आफ्नो प्रतिभा देखाएका छन्। अहिले पोखरा थण्डर्सले एनएसएल फाइनलमा पुगेर अर्को इतिहास रचेको छ। यो कुनै सामान्य उपलब्धि होइन। यो त पोखरा फुटबलको त्यस्तो गौरव हो, जुन आउने पुस्ताले पनि गर्वका साथ सम्झिनेछन्।

Advertisement

यस ऐतिहासिक अवसरको साक्षी बन्ने समय आइसकेको छ। फेरि एकपटक उही पोखरेली जोश देखाएर हुटिङ गर्ने, स्टेडियम भर्ने र आफ्नो प्रिय टिमलाई जिताउन प्रेरणा दिने क्षण आएको छ। मैदानमा मेघझैं गर्जिने र बिजुलीको गतिमा विपक्षीमाथि हाबी हुने पोखरा थन्डर्स एनएसएल फाइनल खेल्दैछ। पोखराको इतिहास, एकता, सपना र सामूहिक हिम्मतको प्रतिबिम्ब पोखरा थण्डर्सलाई समर्थन गर्न जाऔं। यो फाइनल, केवल ललितपुर सिटी एफसी विरुद्धको खेल होइन, यो त पोखरेली फुटबल इतिहासको अर्को स्वर्णिम अध्याय पनि हो।

तपाईको प्रतिक्रिया