जागिर पो सकियो, जीवन अझ बाँकी नै छ

समाधान संवाददाता २०८२ वैशाख १३ गते १७:१४

पोखरा । नेपालमा कर्मचारी अवकाशको उमेरको हद ५८ वर्ष छ । बंगलादेशमा ५९ वर्ष, भारतमा ६० वर्ष छ भने अस्ट्रेलियामा ६७ वर्ष, अमेरिकामा महिला कर्मचारीका लागि औसतमा ६३ वर्ष र पुरुष कर्मचारीका लागि औसतमा ६५ वर्ष छ । त्यसो त नेपालमा २० वर्ष सेवा अवधि पूरा भएपछि स्वेच्छिक अवकाश लिन पाउने प्रावधान पनि छ । लामो समय जागिरे जीवन बिताएकाहरुको अवकाशपछिको जीवन कस्तो हुन्छ त ?

Advertisement

अवकाश भएका कर्मचारीको सबभन्दा चुनौतीपूर्ण पक्ष सामाजिकीकरण रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । लामो अवधि जागिरमा बिताएर अवकाश भइसकेपछि सार्वजनिक काम तथा कार्यक्रममा संलग्न नभई घरमै बस्ने, विगतका दिन सम्झेर टोलाउने, एकोहोरो सोच्ने, एक्लै बोल्ने, धुमपान र मदिरापान सेवन गर्ने जस्ता समस्या पनि नदेखिएका होइनन् । जसका कारण उनीहरु आफ्नो आयु आफै घटाउने पनि गरेका छन् । यस्ता समस्या समाधानका लागि अवकाशप्राप्त कर्मचारीको ज्ञान, सिप र अनुभव प्रयोग हुने गरी मानव स्रोत व्यवस्थापन योजना ल्याउनुपर्ने सुझावहरु पनि आउने गरेका छन् ।

अवकाशप्राप्त निजामती कर्मचारीलाई आइपर्ने यस्तै समस्या समाधान गर्न, सुखदुखमा साथ दिन अनि जागिरे जीवनपछि पनि क्रियाशील भइरहनका लागि पूर्व कर्मचारी सेवा परिषदले काम गर्दै आएको छ । बहुदल आएपछि २०४८ सालमा काठमाडौंमा स्थापित यो संस्था कास्कीमा भने २०५९ सालमा खुल्यो । कास्कीमा खुलेको भए पनि सबै जिल्लामा यसको शाखा नभएकाले गण्डकी प्रदेशस्तरीय काम यसले गर्दै आएको छ । ७ सय १४ सदस्य भए पनि हाल संस्थामा ६ सय १७ जना क्रियाशील छन् । जसमा महिलाको संख्या ६२ मात्र छ । विशिष्ट श्रेणीदेखि श्रेणीविहीन कर्मचारी समान हैसियतमा सदस्य रहने संस्थाको प्रावधान छ ।

अवकाशपछि सक्रिय जीवनका लागि पूर्व कर्मचारी सेवा परिषद्को पहल

परिषदले गरेका गतिविधिका बारेमा जानकारी गराउन शनिबार पोखरामा पत्रकारसँग अन्तक्रिया भएको छ । परिषद अध्यक्ष गिरधारी सुवेदीले अवकाशपछि पनि सक्रिय जीवन जिउन, स्वस्थ भइरहन उत्प्रेरित गर्न अनि सरकारी काम छरितो र प्रभावकारी बनाउने जीवनभरको सीप प्रयोग गर्नका लागि संस्थाले प्रेरित गर्दै आएको जानकारी गराए ।
आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्नेदेखि सदस्य र सदस्यको परिवारको निधनमा समवेदना प्रकट गर्नेसम्मका काम परिषदले गर्दै आएको छ । निजामती कर्मचारीको सहुलियतपूर्ण उपचारका लागि सिभिल अस्पताल काठमाडौंमा सिमित भएकाले प्रादेशिक र जिल्ला अस्पतालहरुमा सेवा विस्तारका लागि सरकारसँग आग्रह गरिएको अध्यक्ष सुवेदीले बताए ।

Advertisement

७५ वर्ष पुगेपछि स्वास्थ्य उपचारवापत पेन्सनमा १० प्रतिशत थप हुने प्रावधान रहेकामा त्यो उमेरहदलाई घटाएर ६८ वा ७० बनाउन पनि परिषद्ले लबिङ गर्दै आएको छ । उनले भने, ‘जति उमेर बढ्दै गयो स्वास्थ्य अवस्था कमजोर हुन्छ । खर्च बढ्छ, सहयोगी चाहिन्छ, त्यसैले १० प्रतिशतभन्दा बढी रकमको माग पनि हामीले गरेका छौं ।
संस्थाले कास्कीमा सदस्यहरुबाटै रकम उठाएर कार्यालय समेत बनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय परिषदमा भोगाधिकारका लागि जग्गा लिएर बनाएको घरमा कार्यालय सञ्चालित छ । ससाना कार्यक्रम गर्नका लागि प्रदेश र स्थानीय सरकारले सहयोग प्रदान गर्दै आएको कोषाध्यक्ष प्रभामिलन तिमिल्सिनाले बताइन् ।

अस्पतालहरुसँग समन्वय गरी पूर्व कर्मचारीलाई छुट सुविधाको प्रबन्ध मिलाउनुका साथै विशेषज्ञ चिकित्सको उपस्थितिमा वृहत स्वास्थ्य शिविर गरिएको अध्यक्ष सुवेदीले जानकारी गराए । साथै कल्याणकारी कोष स्थापना गरी विपद्का बेला सक्दो सहयोग पनि संस्थाले गर्दै आएको छ ।

अवकाशपछिको जीवन घरमै बिताइरहनुपर्ने जसका कारण परिवारका सदस्यले झिँजो समेत मान्ने गरेका छन् । यस्तो अवस्थामा सहज व्यवहारका लागि प्रेरित गर्न संस्थाले बुहारी सम्मान कार्यक्रम थालेको छ । यस वर्ष ३ जना बुहारी सम्मानित भएको र समाजमा यसको सकारात्मक प्रभाव पर्न थालेको अध्यक्ष सुवेदीको भनाइ छ ।

साथै पृथ्वीनारायण क्याम्पसको मानविकी र व्यवस्थापनमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि संस्थाले सम्मान गर्दै आएको छ । पूर्व कर्मचारीका छोराछोरीलाई निजामतीमा आकर्षित गर्न अधिकृतमा उत्तीर्ण भएकाहरुलाई सम्मान गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । अबदेखि सबै तहमा उत्र्तीण हुनेहरुलाई सम्मान गर्ने प्रतिबद्धता उनले जनाए । संस्थाले अनुसन्धानका कामहरु पनि गर्दै आएको छ । अवलोकन भ्रमणका क्रममा होमस्टेको प्रभावकारिताका बारेमा अध्ययन गरेर प्रतिवेदन प्रदेश सरकारलाई बुझाइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीका उपसचिव प्रविण ढकालले परिषद्ले अत्यन्तै प्रभावकारी कामहरु गर्दै आएको भन्दै संस्थागत र व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पहिले र अहिलेको परिवेश फरक भएको भन्दै त्यसै अनुसार प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कार्यक्रम संयोजक नगेन्द्रराज पौडेल, सदस्य लक्ष्मीपति पोखरेल, सदस्य बाबुराम सापकोटा लगायतले समसामयिक विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया