कश्मीर : ३ शक्ति राष्ट्रको क्रिडा भूमि

समाधान संवाददाता २०८२ वैशाख १४ गते ४:५१

पोखरा । विश्वमा थोरै क्षेत्र यस्ता छन्, जुन कश्मीरजस्तै गहिरो रूपमा सैन्यीकृत र स्थायी रूपमा अस्थिर छन् । हिमालयको काखमा फैलिएको यो क्षेत्र भारत, पाकिस्तान र चीन, तीनवटै आणविक शक्तिहरूको सीमामा पर्दछ । कश्मीर लामो समयदेखि क्षेत्रीय प्रतिस्पर्धा र अधुरो भू–राजनीतिक महत्वाकांक्षाको केन्द्रबिन्दु बन्दै आएको छ ।
यो अस्थिरता हालसालै फेरि देखिएको छ । गएको मंगलबार, भारतीय–शासित कश्मीरमा पर्यटकलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भयो र दर्जनौं घाइते भए । भारतले यस घटनालाई आतंकवादी हमला भनेको छ । यसैअघि केही दिन पहिले, विभिन्न भिडन्तमा तीन जना विद्रोही र एक भारतीय सैनिकको मृत्यु भएको थियो । जसले त्यो क्षेत्रमा तनाव अझै खतरनाक रूपमा बढेको देखाउँछ ।

Advertisement

कश्मीर करिब ८५,८०० वर्ग माइलमा फैलिएको छ । भारत, पाकिस्तान तथा चीनले आ–आफ्नो भागमा नियन्त्रण गरे पनि भारत र पाकिस्तानले पूरै क्षेत्रमाथि दाबी गर्ने गर्छन् । यहाँ करिब २ करोड मानिस बसोबास गर्छन् । जसमा १ करोड ४५ लाख भारतीय–शासित भागमा छन् भने करिब ६० लाख पाकिस्तानी–शासित क्षेत्रमा बस्छन् । केही हजारमात्र चिनियाँ–शासित क्षेत्रमा बस्छन् ।

कश्मीर रणनीतिक, आर्थिक र धार्मिक हिसाबले अत्यन्त संवेदनशील क्षेत्र हो । कश्मीरको आधुनिक संघर्षको इतिहास सन् १९४७ मा ब्रिटिस भारतको विभाजनसँगै सुरु भयो । त्यति बेला जम्मु र कश्मीर राज्यका हिन्दू महाराजा हरि सिंहले भारत वा पाकिस्तानमध्ये कसैसँग पनि तत्कालीन रूपमा नजोडिने निर्णय गरेका थिए । तर, पाकिस्तान समर्थित लडाकूले राज्य कब्जा गर्ने प्रयास गरेपछि, महाराजाले भारतसँग सहायता मागे र त्यसको सट्टामा आफ्नो राज्य भारतमा विलय गराए ।

यस घटनाले भारत र पाकिस्तानबीच पहिलो युद्ध निम्त्यायो । जसको परिणामस्वरूप कश्मीरको विभाजन भयो, जुन आजसम्म कायम छ । आज, भारतले कश्मीर उपत्यका, जम्मु र लद्दाख क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेको छ । पाकिस्तानले उत्तरी कश्मीरमा आजाद जम्मु कश्मीर र गिलगित–बाल्टिस्तान नियन्त्रणमा राखेको छ । अर्कोतर्फ, चीनले अक्साई चीन र शक्सगम उपत्यका नियन्त्रणमा राखेको छ, जसमा भारतले दाबी गरिरहन्छ ।

पाकिस्तानको दाबी मुख्यतः कश्मीरको मुस्लिम बहुल जनसंख्याको आधारमा आधारित छ, जबकि भारतले १९४७ मा महाराजाले हस्ताक्षर गरेको विलय दस्तावेजलाई आफ्नो कानुनी अधिकारको प्रमाणस्वरूप प्रस्तुत गर्छ । तर, कतिपय कानुनी जानकारहरूले यो दस्तावेज जबर्जस्ती प्राप्त गरिएको भन्दै यसको वैधतामाथि प्रश्न उठाएका छन् । यी असहमति र विवादले कयौं युद्ध विद्रोह र दशकौं लामो कूटनीतिक तनावलाई जन्म दिएका छन् ।

Advertisement

यद्यपि भारत र पाकिस्तान नै कश्मीरसम्बन्धी मुख्य पात्रहरू हुन् । चीन पनि यो समीकरणमा सामेलचाहिँ छ । चीनले नियन्त्रण गरेको अक्साई चीन क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण छ, जसले तिब्बत र सिन्जियाङलाई जोड्ने मार्ग प्रदान गर्छ । सन् १९६२ मा चीन र भारतबीच भएको छोटो तर तीव्र युद्धपछि चीनले अक्साई चीनमा आफ्नो नियन्त्रण बलियो बनाएको थियो ।

पछिल्ला वर्षमा, चीनले लाइन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो सैन्य उपस्थिति अझ विस्तार गरेको छ, जसले भारत–चीन सम्बन्धलाई पनि तनावपूर्ण बनाइदिएको छ । कश्मीर यति धेरै सैन्यीकृत छ कि यहाँको सैनिक घनत्व कोरियन प्रायद्वीपभन्दा पनि बढी छ । भारतले जम्मु र कश्मीर क्षेत्रमा करिब साढे सात लाख सैनिक तैनाथ गरेको विश्वास गरिन्छ । जबकि पाकिस्तानले लाइन अफ कन्ट्रोलवरिपरि लगभग सवा लाख सुरक्षाकर्मी र क्षेत्रभरि सवा दुई लाखसम्म सैनिक राखेको छ । यति ठूलो सैन्य उपस्थिति हुँदा, सानो घटना पनि ठूलो संघर्षमा बदलिने खतरा रहन्छ ।

यसका साथै, विद्रोही समूहहरूले स्थिति अझ जटिल बनाइरहेका छन् । भारतीय–शासित कश्मीरमा सन् १९८० को दशकको अन्त्यदेखि सुरु भएको सशस्त्र विद्रोहमा स्थानीय असन्तुष्टि र बाह्य समर्थन दुवैको भूमिका रहँदै आएको छ । भारतले पाकिस्तानमाथि आतंकवादी समूहहरूलाई समर्थन गरेको आरोप लगाउँछ, जसलाई पाकिस्तान अस्वीकार गर्छ । लश्कर–ए–तोइबा, जैश–ए–मोहम्मद र हिजबुल मुजाहिदीन जस्ता समूहले अतीतमा ठूलो मात्रामा आक्रमण गरेका थिए ।

हालैको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध विभिन्न कदम चालेको छ—कूटनीतिक सम्बन्धहरू घटाएको छ, स्थल तथा हवाई सीमाहरू बन्द गरेको छ र १९६० को सिन्धु जल सन्धि निलम्बन गर्ने संकेत गरेको छ । पाकिस्तानले भने यस्तो कदमलाई युद्धको कार्यको रूपमा व्याख्या गर्ने चेतावनी दिएको छ । सन् २०१९ मा पुलवामा हमलापछि भारत र पाकिस्तान एक पटक युद्धको नजिक पुगेका थिए, जब भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।
त्यही वर्ष भारतले संविधानको धारा ३७० हटाएर जम्मु र कश्मीरलाई विशेष स्वायत्तताबाट वञ्चित गराएको थियो, जसले क्षेत्रीय तनाव झन् बढाएको थियो । आज पनि, कश्मीर क्षेत्रमा जताततै बारुदको गन्ध महशुस गर्न सकिन्छ ।

जहाँ विगतमा पटक–पटक युद्ध भइसकेका छन्, त्यहाँ फेरि अर्को संघर्ष भड्किने खतरा धेरै वास्तविक र चिन्ताजनक छ—र यो सम्भावित संघर्ष आणविक खतरासमेत बोकेको छ, जुन केवल दक्षिण एसियामात्र होइन, सारा विश्वका लागि भयावह हुन सक्छ । (विभिन्न एजेन्सीको सहयोगमा )

तपाईको प्रतिक्रिया