नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औं वार्षिक साधारण सभा

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३१ औं वार्षिक साधारण सभामा निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयले वार्षिक रूपमा निर्धारण गर्ने निर्माण सामग्री तथा कार्यको दररेट न्यून भएको र त्यसपछि पनि अत्यधिक घटाउ हुने प्रवृत्तिका कारण योजनाको गुणस्तरमा गम्भीर समस्या देखिएको गुनासो गरेका छन्।
सभामा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले न्यून दररेटकै कारण व्यवसायीहरूले आफूबीच अत्यधिक घटाउ गर्दै टेन्डर लिने प्रतिस्पर्धा हुने र त्यसले संरचनाको गुणस्तर खस्काउने बताए। उनले भने, “पहिले नै प्रशासनले निर्धारण गरेको दर कम हुन्छ, त्यसपछि साथीहरू आफैं धेरै घटाएर टेण्डर पार्ने होडबाजी गर्छन्। यस्तो अवस्थामा न त व्यवसायी बाँच्छन्, न त राष्ट्रको समुन्नति हुन्छ।”
उनले योजनामा रकम ४२ प्रतिशतसम्म घटाइएको उदाहरण दिँदै भविष्यमा यस्तो घटाउ १५ प्रतिशतभित्र सीमित गर्नुपर्नेमा जोड दिए। “त्यति सीमित गरेमा निर्माण कार्य गुणस्तरीय हुनेछ र व्यवसायी पनि जोगिनेछन्,” सिंहले भने। साथै, उनले सम्पूर्ण निर्माण कार्यको मूल्य समायोजन हुनुपर्ने मागसमेत गरे।
सभामा सिंहले सार्वजनिक खरिद नियमावलीको १४औँ संशोधन व्यवसायी हितमा रहेको बताउँदै, उक्त संशोधन चाँडै राजपत्रमा प्रकाशन हुने विश्वास व्यक्त गरे। उनले निर्माण क्षेत्र चलायमान नभएको कारण देशको अर्थतन्त्र कमजोर बनेको धारणा पनि राखे।
महासंघका सल्लाहकार शुकुन्तलाल हिराचनले देशभरका निर्माण व्यवसायीलाई एकजुट हुन आह्वान गर्दै, आगामी बजेटमार्फत व्यवसायीका समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए। अर्का सल्लाहकार निकोलस पाण्डेले पुँजीगत खर्च बढे मात्र देश समुन्नतिको मार्गमा अघि बढ्ने भन्दै, खरिद नियमावलीमा १५ प्रतिशतभन्दा बढी घटाउ गर्न नपाइने स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरे।
त्यसै अवसरमा एसोसियट उपाध्यक्ष रामजी पन्त (मुकेश), उपाध्यक्षहरु खिमप्रकाश मल्ल, बालकृष्ण थापा, कास्की काँग्रेस सचिव भानु ढकाल, प्रमुख सल्लाहकार शिवशंकर गौचन, केन्द्रीय महासचिव रोसन दाहाल, गण्डकी प्रदेश अध्यक्ष टंकराज बराल, बागमती अध्यक्ष छत्र तामाङ, केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जीवी पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नवलपुरका निवर्तमान अध्यक्ष गोमाया खड्गलुक लगायतले पनि धारणा राख्दै निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, योजना सम्पन्न भएपछि तत्काल भुक्तानी दिनुपर्ने, दररेट विश्लेषण गरेर मात्र टेण्डर गर्नुपर्ने र व्यवसायीको एकता जोगाइराख्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमका क्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीमध्ये नीरव पहारीलाई सम्मान गरिएको थियो भने अग्रज व्यवसायीहरू शरद्राज सुवेदी, हरिप्रसाद बराल र शुकुन्तलाल हिराचनलाई समेत सम्मान गरिएको थियो।
सचिव डम्बरराज ढकाल र कोषाध्यक्ष हिरामणि पोख्रेलले प्रस्तुत गरेका विषयगत प्रतिवेदनहरू छलफलसहित अनुमोदन गरिए। सो अवसरमा नयाँ वर्षको टेबल क्यालेन्डर पनि विमोचन गरिएको थियो।
कार्यक्रममा संघ अध्यक्ष लिलकाजी गुरुङले सरोकारवाला सबैको साथ र सहयोगका कारण संस्था गतिशील रहन सकेको उल्लेख गर्दै व्यवसायीको हितका लागि अविचलित रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
तपाईको प्रतिक्रिया