चार दिनदेखि पोखरामा के गर्दैछन् काठमाडौंका मेयर बालेन साह

पोखरा । काठमाडौंका मेयर बाले साह जन्मदिन मनाउन सपरिवार पोखरामा छन् । बुवाआमा, दाजु भाउजु, दिदी भिनाजुसँगै पत्नी र छोरीसहित ११ गते उनी पोखरा आएका हुन् । पोखरामा उनले कसैसँग औपचारिक भेटघाट नगरे पनि परिवारसँग घुमफिर भने मजैले गरेका छन् ।
आउने दिन चाउथेको मझेरी मञ्जिलमा बसेका उनले नजिकका साथीभाइसँग बेगनासताल र फेवातालमा डुंगा सयर गरेका छन् । ती फोटोहरु सामाजिक सञ्जालमा पनि देखिएका छन् । उनी यसअघि आउँदा पनि त्यही फार्म हाउसमा बसेका थिए । मेयर बालेनसँग पोखरामा साहित्यकार गनेस पौडेल नजिक छन् । पौडेल गएको स्थानीय चुनावमा लौरो चिह्न लिएर पोखराको मेयरमा लडेका थिए ।

तिथिका हिसावले शनिबार भए पनि मेयर बालेनको जन्मदिन मितिका हिसावले आज आइतबार हो । उनले जन्मदिन साथी गनेस पौडेलसँगै मनाउने छन् । उनको जन्मदिनमा गनेस पौडेलले आफ्नी आमासँगै बालेनले खिचाएको र फोटो राखेर शुभकामना दिएका छन् ।
जति ‘ठूलो’ जिम्मेबारीले थिचिए पनि जत्रा ठूला मान्छेले सताउन खोजे पनि जीवनको स्वभाविकतालाई कहिल्यै विचलित हुन नदिने, सबै सज्जनको लागि सधैँ सानो भएर सजिलै उपलब्ध हुने, सधैँको सरल सधैको स्वप्निल एउटा फकिर ।
हाम्रो पिढींले समाजलाई सुम्पेको समकालीन सपनाको कारिगर
नैतिकताको मिशाल, इमानको पहरेदार,
युगको अन्तिम आशाजस्तो एक निर्विकल्प दीपक
समिपका, दूरीका, बगलका सबैको लागि सरोबर सबैको लागि बरोबर
सबैको शानदार साथी
सानु मानिसको अझ सानो ‘बाब्बा’ अनि सबै नेपाली आमाकोजस्तै मेरी आमाको पनि आफूले नजन्माएको एक अर्को सच्चा सन्तानलाई जन्मदिनको शुभकामना छ ।

शनिबार दिउँसो १ बजेतिर कास्कीको माछापुच्छ्रेस्थित भुर्जुङखोलामा रहेको चर्चित गण्डकी रेन्बो ट्राउटमा पुगेको बालेन परिवारले रात पनि त्यहिँ बिताएको छ । गण्डकी रेन्बो ट्राउटका सञ्चालक लक्षिन र अमृत गुरुङले बालेन र बालेनको परिवारसँग खिचेका तस्बिर सार्वजनिक गरेका छन् । चालकसहित १३ जना गण्डकी रेन्बो ट्राउटमा पुगेकामा उनीहरुले ६ वटा कोठा लिएका थिए । सारै भिडभाड हुने उक्त ठाउँमा बालेनले सुरुमै आफूसँग तस्बिर खिच्न आउनेहरुलाई रोकिदिन आग्रह गरेका थिए । उनको आग्रह अनुसार सुरक्षा गार्ड तैनाथ गरेको रेस्टुरेन्टका सञ्चालकले बताए ।

गण्डकी रेन्बो ट्राउट फार्म भन्दा केही माथि बनाइएको लजमा उनीहरु बसेका थिए । बालेन परिवारले शनिबार दिउँसोको खाजा रेस्टुरेन्टमा खाए पनि खाना भने सुत्ने ठाउँमा नै पुर्याइएको थियो । बालेनको भाउजुको माइती पोखरा १९ चुरुंगा नै रहेकाले यसअघि ४ वर्ष पहिला बालेन परिवारसहित गण्डकी रेन्बो ट्राउट पुगेका थिए । त्यसैले उनका लागि यो नयाँ ठाउँ भने थिएन ।
उनीहरु आइतबार बिहान ब्रेकफास्ट खाएपछि साथीको घरमा खाना खानेभन्दै त्यहाँबाट बाहिरिएका हुन् ।
खासै अरुसँग कुरा नरुचाउने बालेनलाई हिँड्न् बेलामा ट्राउट फार्मका सञ्चालक लक्षिन गुरुङले रेस्टुरेन्टका स्टाफसँग सामूहिक फोटो खिच्न गरेको आग्रह गरे । आग्रह स्वीकार्दै बालेनले सामूहिक फोटो खिचाएका छन् । के कुरा भयो त बालेनसँग ? लक्षिन गुरुङले भने, ‘हाम्रो फार्ममा सुधार गर्नुपर्ने केही भए सुझाव दिनुस् है मेयर साब भने भनेको थिए, उहाँले सबैतिर हेरें धेरै राम्रो छ मात्र भन्नुभयो ।’ बाहिरिने बेलामा आगन्तुक पुस्तिकामा ‘भेरी नाइस फुड एन्ड हस्पिटालिटी’ भनेर प्रतिक्रिया लेखेका छन् ।
उनी आजै मझेरी मञ्जिलमा लञ्च खाएर काठमाडौं फर्कने कार्यक्रम छ ।
पोखरा आउने दिन वैशाख ११ गते फेसबुक र एक्समा रत्नपार्क नजिकैको बसपार्कमा निर्मार्णाधीन काठमाडौं टावरका बारेमा लामो स्टाटस लेखेका थिए । त्यसपछि उनको स्टाटस आएको छैन । यसले उनी बिदाको मुडमा छन् भनेर प्रष्ट्याएको छ । उनी पोखरामै रहेका बेला काठमाडौंको तत्कालीन नगरपञ्चायतका उपमेयर एवं नेपाली कांग्रेसका उपमेयर तीर्थराम डंगोलको निधन भएको छ । उनको निधनमा आइतबार महानगरमा शोक बिदा दिइएको छ ।
तस्बिरहरु लेखक त्रिवेणीको सामाजिक सञ्जाल लगायतबाट लिइएको हो ।
तपाईको प्रतिक्रिया