समानान्तर साहित्यिक मञ्चको नयाँ कार्यसमिति

पोखरा ।
समानान्तर साहित्यिक मञ्च, पोखराको तदर्थ समिति विघटन भई नवकार्यसमिति गठन भएको छ । मञ्चको अध्यक्षमा विश्वराज रसाइली, उपाध्यक्षमा रनबहादुर रणपाल, सचिवमा बुद्धिबहादुर विश्वकर्मा, सहसचिवमा सरिता गायक र कोषाध्यक्षमा राम विवश विश्वकर्मा छन् ।
सदस्यमा सबीना सुनाम र सुश्मा नेपाली छन् । मञ्चले लोकगायक, संकलक एवं कलाकार बुद्धि परियारको स्मृति ग्रन्थ प्रकाशन गरिसकेको छ भने उनैको नाउँमा बुद्धि परियार स्मृति सम्मान पुरस्कारको स्थापना गरी नेपाली लोकगीत क्षेत्रमा क्रियाशील एक प्रतिभालाई सम्मान गर्ने जनाएको छ ।
साथै साहित्य क्षेत्रमा सक्रिय रहेर सामाजिक रुपान्तरणका लागि भूमिका खेल्ने एक साहित्यकारलाई पनि सँगै सम्मान गर्ने जानकारी मञ्चका सचिव बुद्धिबहादुर विश्वकर्माले जानकारी दिए ।
मासिक रुपमा सञ्चालन गर्दै आएको रचना वाचन शृङ्खलालाई अब भने नियमित रुपमा अघि बढाउनेसमेत तयारी भइरहेको छ । मञ्चले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारलाई प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको पनि जनाएको छ ।
नेपाली समाजमा कायम जातीय विभेद, छुवाछूत, अन्धविश्वास, महिला हिंसालगायत कुरीतिविरद्ध सक्रियरुपमा मञ्चले आफ्ना सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिनेसमेत अध्यक्ष रसाइलीले बताएका छन् ।
तपाईको प्रतिक्रिया