मदिरा व्यवसायी संघ कास्कीको अध्यक्षमा कृष्णबहादुर भाट निर्वाचित

समाधान संवाददाता २०८२ वैशाख १४ गते १९:०८

पोखरा ।
मदिरा व्यवसायी संघ कास्कीको अध्यक्षमा कृष्णबहादुर भाट निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनले भाटको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नेत्र ढुंगाना, प्रथम उपाध्यक्षमा राधाकृष्ण देवकोटा, द्वितीय उपाध्यक्षमा मिलन राणा शमशेर, महासचिवमा राम पोखरेल, सचिवमा हरि कँडेल, कोषाध्यक्षमा धनबहादुर पराजुली र सहकोषाध्यक्षमा कृष्ण पोखरेल निर्वाचित भएका छन् ।

Advertisement


त्यस्तै, सदस्यहरूमा ऋषि न्यौपाने, कृष्णप्रसाद पौडेल, सुरेश भुवाई, सुदर्शन श्रेष्ठ, रविन गुरुङ, ढाकाराम अर्याल, सन्दीप बास्तोला र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रमको प्रमुख अतिथि मदिरा व्यवसायी संघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले केही गलत व्यक्तिका कारण समग्र व्यवसाय धरापमा परेको गुनासो गरे । उनले व्यवसायीले कारोबारअनुसार समयमा कर तिर्ने र कागजातहरू सही तरिकाले राख्ने हो भने कुनै समस्या नआउने बताए ।


संघका निवर्तमान अध्यक्ष सुर्यराज घिमिरेले मदिरा व्यवसायलाई व्यवस्थित बनाउन राजस्व कार्यालय, पोखरा उद्योग वाणिज्य संघ लगायत संस्थाहरूले खेलेको भूमिकालाई महत्वपूर्ण बताए । उनले नयाँ कार्यसमितिलाई लक्षित गर्दै संघले गर्दै आएको र गर्न बाँकी कामलाई निरन्तरता दिन आग्रह गरे ।


नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर भाटले २०६५ सालमा स्थापना भएको मदिरा व्यवसायी संघ कास्कीले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमा सहजीकरण तथा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको जानकारी गराए । उनले बाढी तथा भूकम्प पीडितलाई राहत वितरण, आकस्मिक रक्तदान, मानव सेवा आश्रममा सहयोग, सेतो रक्तकोष तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्दै आएको उल्लेख गरे ।


भाटले संघले पोखरा–१७ महतगौडामा जग्गा खरिद गरेको जनाउँदै आफ्नै कार्यकालमा कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले अवैध तथा स्थानीय स्तरमा उत्पादित मदिरालाई सम्बन्धित निकायसँग छलफल गरी व्यवस्थित गर्न पहल गर्ने बताए ।

Advertisement


कार्यक्रममा संघका महासचिव अर्जुन अधिकारीले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने रजिष्टर्ड लेखापरीक्षक राजेन्द्रकुमार श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, मदिरा व्यवसायी संघका पूर्वअध्यक्ष, सल्लाहकार तथा व्यवसायीहरूको उपस्थिति थियो । ०६५ सालमा स्थापना भएको संघमा हाल ३०० भन्दा बढी साधारण सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया