कास्कीमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने ३५ मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाजमा ध्वनी प्रदूषण गर्दै हिँड्ने सवारी साधनहरूमाथि विशेष निगरानी बढाएको छ।
वैशाख ३ गतेदेखि वैशाख १४ गतेसम्म गरिएको चेकजाँचमा ३५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले सवारी साधन स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने क्रियाकलापले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै कडाइका साथ निगरानी थालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (प्रनाउ) वसन्तकुमार शर्माले बताए ।
यस्तै, प्रहरी कार्यालयले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्दै मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको ‘१००’ नम्बर वा जिल्ला ट्राफिक प्रहरी कार्यालयको ‘१०३’ नम्बरमा टेलिफोन गरी सूचना दिन अनुरोधसमेत गरेको छ।
तपाईको प्रतिक्रिया