चट्याङ लागेर कास्कीको अन्नपूर्णमा २ जनाको मृत्यु

समाधान संवाददाता २०८२ वैशाख १४ गते २०:०८

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरू संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुन्।

Advertisement

कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको हो।

उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग (बाटो) बनाउने काम गरिरहेका थिए। सो स्थानमा आइतबारबाटै पदमार्ग विस्तारको काम सुरु भएको थियो, जसमा ९ जना मजदुर खटिएका थिए।
अन्य ७ जना भने सकुशल रहेका छन्।

मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी शर्माले बताए।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ।

Advertisement

घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ।

उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको थियो।

तपाईको प्रतिक्रिया