सरकारलाई रास्वपाको चुनाैती : पोखरा विमानस्थलमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्ने हिम्मत गर

समाधान संवाददाता २०८२ वैशाख १४ गते २०:१६

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १० अर्ब बढीको भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

Advertisement

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई यस्तो चुनौती दिएका हुन् । उनले उच्चस्तरीय सशक्त न्यायिक समिति बनाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा मुछिएकाहरू कारबाही गर्न सरकारलाई आग्रह गरे ।

उनले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिले उजागर गरेको गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगतमै नेपालको छवि धमिलिएको बताए ।

उनले विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बन्न नसक्दा धावन मार्ग भन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरिरहेको जिकिर गरे ।

सांसद पराजुलीले नाकै मुनी भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि कारबाही अगाडी बढाउने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।

Advertisement

उनले भने, “२०७१ सालमा प्रधानमन्त्रीज्यु तपाईंले नै निर्माण सम्झौता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २०७९ मा उद्घाटन सम्पन्न भयो । तर आजसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन सकेको छैन । २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।

त्यति मात्रै होइन, प्रधानमन्त्रीज्यु, विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बन्न सकेन तर धावन मार्ग भन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरिरहेको छ । यो प्रकरण उजागर गर्नुमा आफ्ना स्वार्थ होलान्, यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रियले उजागर गरेको कुरा सत्य हो नि ।

प्रधानमन्त्रीज्यू, नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि उच्च स्तरीय सशक्त न्यायिक समिति गठन गरेर यो परियोजनामा भएको सबै किसिमको भ्रष्टाचार र अनियमितताको छानबिन गरेर भ्रष्टाचारमा जोडिएका सबैलाई कानुनी कठघरामा उभ्याएर विमानस्थल नियमित रूपमा सुचारु गराउने प्रतिवद्धता जाहेर गर्ने हिम्मत छ प्रधानमन्त्रीज्यु ?”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको थियो ।

तपाईको प्रतिक्रिया