सडक स्तरोन्नतिसँगै सास्ती पनि

ठेकेदारको गति न सरकारको खबरदारी

सञ्जय रानाभाट २०८२ वैशाख १५ गते ६:३३
एआइ निर्मित तस्बिर

पोखरा । चोकचोकमा धुलो र ट्राफिकजामको सास्ती । अहिलेको पृथ्वीराजमार्गको वास्तविकता यस्तै छ । ‘सडक विस्तार’ को आशामा बसेका सर्वसाधारणको धैर्य, दिनहुँको धुलोमैलोले अत्यासलाग्दो बनाएको छ ।

Advertisement

लेखनाथमा व्यवसायी गर्दै आएका हरि शर्माले प्रत्येक दिन अन्धकारमा बाँच्नुपरेको सुनाउँछन् । ‘बाटो खनिएको छ । अझ यो चोकमा यता तालचोक बेगनासतालको बाटो बनिरहेको छ । अर्कोतिर पृथ्वी हाइवे बनिरहेको छ । धुलोको कारण झ्याल खोल्न पनि नसकिने, अन्धकार अवस्था छ । विकास चाहिन्छ, तर यति अव्यवस्थित होइन ।’

यातायातको साधनका चालकहरु पनि हैरान छन् । पोखरा फूलबारीका डिलबहादुर नेपाली भन्छन्, ‘पहिलाजस्तो यात्रु टिप्न सजिलो छैन, जाम र खाल्डाले गाडी बिग्रिरहन्छ । सडक विस्तारको काम सडकमै खानेपानी र ढलको लाइन अस्तव्यस्त छ । जोगिएन भने कहाँ पुगेर के हुने हो, थाहा छैन ।’

पोखरा छिर्ने मुख्य नाका पृथ्वीराजमार्ग सडक खण्डमा जारी निर्माणले बिचबिचमा खाल्डाखुल्डीको भ्वाङले यात्रु, चालक र स्थानीयवासी वर्षैदेखि सास्ती खेप्न बाध्य छन् । बाटो चक्लाउन लगाए पनि एकातर्फ सडक पनि अझै पूरा हुन सकेको छैन, त्यो पनि एकदमै सुस्त छ । चोकचोकमा काम भइरहेको जस्तो देखिए पनि पोखराको लेखनाथदेखि पृथ्वीचोकको पुल वरिपरि यात्रा गर्ने जोकोही आतिन्छ । प्रत्येक बिहान, दिउँसो बेलुका लेखनाथदेखि अमरसिंहचोक, पृथ्वीचोकसम्म ट्राफिक जाम सामान्य भइसकेको छ । कतिपय बेला एम्बुलेन्ससमेत जाममै अड्किने अवस्था छ । स्थानीय स्कुलका विद्यार्थी समयमै विद्यालय पुग्न सक्दैनन् भने व्यापारीहरू ग्राहक नआएको गुनासो गर्छन् ।

Advertisement


अझै पोल हटेका छैनन्

पोखरा प्रवेश गर्ने मुख्यनाका पृथ्वीराजमार्ग मात्र होइन, पोखराका भित्री सडकको अवस्था पनि पीडादायक छ । पोखरेलीले सबैभन्दा बढी हैरानी खोपेको सडक हो–मुग्लिन–पोखरा सडक । २०७८ मा चाइनिज कम्पनी यनहुई काइयुयानले निर्माणको ठेक्का पाएको छ । तर, निर्माण थालेको ४ वर्षसम्म पनि एकतर्फी सडकले पूर्णता पाएको छैन । निर्माण कम्पनीले काम गर्न नसक्दा दुईपटक म्याद थप गरिएको छ । अहिले पोखरातर्फको खण्ड हाल काम भइरहेको छ, तर एकदमै मन्द ।

पोखरासम्मको सडक खण्डमा पुल, नहर निर्माण नहुँदा यात्रुहरूले अत्याधिक समस्या भोगिरहेका छन् । विशेष गरी विजयपुर खोलामा बन्ने पुल कहिले सम्पन्न हुन्छ, अझै टुंगो छैन । पोखरा मुग्लिन सडक ६ लेनका भएपनि बिजयपुरदेखि चाउथेसम्मको सडक ४ लेनका हो । पुल निर्माणले गति नलिँदा मुग्लिन सडक कहिले छिचोलिन्छ यकिन छैन ।

पोखरा खण्डको अर्को अप्ठेरो ठाउँ हो–पृथ्वीचोकको पुल । यो पुलको फाउण्डेसनको काम पनि अझै सकिएको छैन । दायाँ र बायाँ २÷२ लेनका पुल निर्माण गर्न आउँदा सन् २०२५ सेप्टेम्बरसम्म म्याद थप गरिएको छ । तर, अझै पनि फाउन्डेसनकै काम नसकिएको पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । पूर्व खण्डको काम अन्तिम चरणमा आइपुगे पनि पश्चिम खण्डको काम भने निकै सुस्त छ । पश्चिमतर्फ कुल ३८.८८ किलोमिटर हो, तर अझै पनि एकतर्फी सडक ३५ किलोमिटर मात्र सकिएको छ । बाँकी ३ किलोमिटर पनि यस्तै पुल, राइटवे क्लियर नहुँदा काम गर्न नसकिएको प्रमुख कुँवरले बताए ।

‘विजयपुरखोलादेखि सैनिकबस्तीसम्म बिजुलीका पोल हटाउनै सकिएको छैन । यी बिजुलीका पोल हटाएपछि रफतारमा काम अगाडि बढ्छ,’ उनले थपे, ‘पोखरा खण्डदेखि तनहुँ खण्डमा अझै पनि ४ सय वटा बिजुलीका पोल सार्न सकिएको छैन । त्यसकारण पनि काम अवरुद्ध भइरहेको हो ।’

मुग्लिन पोखरा खण्ड पूरा गर्न दोस्रो पटक सन् २०२५को डिसेम्बरसम्म म्याद थप गरिएको छ । तर, पुल र फुतपाटको राइट वे क्लिय नहुँदा बाँकी म्यादसम्म पनि पूरा नहुनेमा स्थानीयको आशंका छ । ‘विद्युत प्राधिकरणसँग राम्रोसँग समन्वय हुन सकेको छैन । अर्को, यत्रो निर्माण ठेक्का छ । सीमित मान्छेले मात्र काम गरेका छन् । अनि, कहाँ समयमा सकिन्छ,’ निर्माण कम्पनीका एक कर्मचारीले भने ।


तालचोक–बेगनास सडकमा ‘ठेकेदारको मनमौजी’
पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकदेखि वडा नम्बर ३१ बेगनासताल जोड्ने ४ लेन सडक विस्तार गर्न ०७९ मा ठेक्का लाग्यो । निर्माण थालेको करिब ४ वर्षसम्म पनि ५५ प्रतिशत काम सम्पन्न भएको आयोजना हेर्ने पोखरा महानगरका फोकल पर्सन इन्जिनियर नवीन गौतमले जानकारी दिए । उनका अनुसार कन्ट्रक्सन कम्पनीले मोभिलाइजेसन नै गर्न सकेको छैन । ‘पब्लिक अवरोध एकातिर अर्कोतर्फ ठेकेदार कम्पनीले तदारुकता कम भयो,’ उनले भने ।

जबकी ठेक्का सम्झौतामा २ वर्षमा सक्नुपर्ने गरी स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीले ठेक्का पाएको हो । तर, ठेकेदार कम्पनी नै बिचबिचमा गायब हुँदा यो सडक खण्ड पूरा हुन सकेको छैन, अभैm कतिसमय अन्योल हुने हो पत्तो छैन । ‘गत वर्ष साउनदेखि निर्माणको जिम्मा पाएको ठेकेदार हराउनुभयो । अहिले पनि काम भए जस्तो देखिएपनि जनशक्ति नै कम छन्,’ इन्जिनियर गौतमले भने ।

तालचोक बेगनास सडक निर्माण गर्न अझै पनि रुट क्लियर हुन सकेको छैन । कतिपय स्थानीयले मुआब्जा नपाएको भन्दै मापदण्डभित्र परेका संरचना भत्काएका छैनन । अर्कोतर्फ देउराली खोलामाथि बनेको पुल डिजाइन नै गलत भएको भन्दै स्थानीयले पुलको उचाइकोे विषयमा विवाद गरेका छन् । विश्व बैंकको आर्थिक सहयोगमा ३.२८ किलोमिटरको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का पाएको हो । तर, तोकिएको समयमा पूरा नगरेपछि अहिले सन् २०२५ नोभेम्बरसम्म म्याद थप गरिएको छ ।

७ वर्षदेखि अलपत्र फिर्के पुल
फिर्के पुल पोखरा महानगरपालिकाका वडा नम्बर ४ र ५ को सीमानामा पर्छ । फिर्के खोलाको पुलसम्म ६ लेनको फराकिलो बाटो छ । पुल तरेपछि विन्ध्यवासिनीसम्मै ६ लेनको बाटामा सवारीसाधन हुइँकिन्छन् । पुल बनाउन २०७५ सालमा शान्ति आरोग्य जेभीलाई ठेक्का दिइएको थियो । सुरुमा सडक डिभिजन कार्यालय, पोखराले ३० महीनाभित्र पुनः निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता ग¥यो । तर तीनपटक म्याद थप हुँदासमेत पुल बन्न सकेन । अन्तिम पटक ०८१ असारबाट म्याद सकियो । त्यसपछि सडक डिभिजन कार्यालय पोखराले निर्माण कम्पनी श्री शान्ति–आरोग्य जेभी सानेपा ललितपुरसँग ठेक्का तोडेको सूचना अधिकारी ध्रुव पोखरेलले जानकारी दिए ।

साँघुरो पुलकै कारण पछिल्लो पाँच वर्षमा मात्र करिब ८० वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गण्डकीको तथ्यांक छ । ‘ठेक्का तोड्न काम भएको छ । धरौटी रकमसमेत जफल गर्न खोजेको थियो । तर, निर्माण कम्पनीले धरौटी जफत गर्दैै लागेको खबर पाएपछि अदालत गुहारेका छन् । अर्को ठेकेदार कम्पनीलाई कालो सूचनामा राख्न सिफारिस गरेका छौं भने ठेक्का तोडिएपछि यो आर्थिक वर्षभित्र नयाँ ठेक्का लगाउने काम अगाडि बढ्छ,’ उनले भने ।

महानगरले ठेकेदारलाई पेस्की पनि दिन सकेन
विजयपुर खोला तरेपछि चाउथे–कुँडहर जोड्ने सडक (बिपीमार्ग) बजेट अभावले अलपत्र परेको छ । पोखरा १४ र १३ जोड्ने यो सडक पृथ्वीराजमार्गको वैकल्पिक भित्री सडक हो । तर, निर्माण गरेको छोटो समयमा नै सडक भत्किएपछि पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्‍यो ।
महानगरको बजेट अनुसार सडक बनाउन शिवम् जिएसआर केडी कन्ट्रक्सन जेभीले भ्याटबाहेक ९ करोड ४० लाखमा ठेक्का पाएको छ । तर, महानगरको खाता रित्तो हुँदा निर्माण कम्पनीले सुरुमा पेस्की लिनै सकेको छैनन । निर्माण कम्पनीका कृष्ण ढकालले आफू बारम्बार महानगर धाउँदासमेत पेस्की पाउन नसकेको बताए ।
‘महानगरले अर्को ठाउँमा काम गरेको पैसा त दिन सकेको छैन । खातामा पैसा छैन भन्छन् । यो नयाँ ठेक्का त खोइ कहिले अगाडि बढ्छ, हामीसँग पनि पैसा हुँदैन । २÷४ लाखको कुरा भएन, करोडको भयो,’ उनले भने । यो सडक अहिले भग्नाविशेष अवस्थामा पुगेको छ, पाइलैपिच्छे खाल्टा छन् । निर्माण कम्पनीले १ वर्षमा सक्ने गरेर सम्झौता गरिएको छ । तर, स्रोतको सुनिश्चित नहुँदा बाटो निर्माण अलपत्र बन्ने परेको छ ।

हरिचोक हेम्जा जोड्ने सडककै दुरावस्था
पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना हो, मध्यपहाडी लोकमार्ग । यो सडक खण्ड निर्माण गर्न २०७९ साउनमा ठेक्का लाग्यो । तर, निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा तीन वर्षदेखि यो सडक थुलाम्मे छ । पोखरा १ बगरमा पर्ने यो सडक २.२ किलोमिटरमात्र हो । तर, अहिले सडक निर्माण गर्ने म्याद सकिसक्यो, तर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

निर्माण निर्माण कम्पनीले भने भर्खर कालोपत्र सुरु गरेको छ । आयोजनाका सूचना अधिकारी कृष्ण सुवेदीले चालु आर्थिक वर्षसम्म कालोपत्रे सकिने बताए । ‘म्याद त सकियो । अब जरिवाना बुझाएर भएपनि हामी चालु आर्थिक वर्षसम्म काम सक्छौं,’ सूचना अधिकारी सुवेदीले भने, ‘पुल निर्माण गर्न भने ०८२ भदौसम्म म्याद छ ।’
मध्यपहाडी लोकमार्गमा पर्ने यो सडक खण्ड पोखरा वडा नम्बर १ अन्तर्गत पर्छ । पोखरा महानगरको वडा नम्बर १ र २५ नम्बर वडा जोड्ने सडक निर्माण गर्न मोतीदान कन्ट्रक्सन काठमाडौंले म्याटसहित ४८ करोडमा ठेक्का पाएको हो भने याम्दी पुल निर्माण गर्न गीता कन्ट्रक्सन स्याङ्जाले १९ करोडमा जिम्मा पाएको छ ।

‘१९ करोडमा ३ वटा पुल हो । याम्दीमा दुई वटा पुल हो । अर्को घट्टे खोलामाथि हो । याम्दीमा एउटा पुल यो आर्थिक वर्षमा सक्छौं । तल बन्ने पुल अर्को आर्थिक वर्षमा सक्र्छौैं,’ सूचना अधिकारी सुवेदीले भने । चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायत काम सकिएको जनाइएको छ । निर्माण कम्पनीले बालुवा गिट्टी उत्खनन्का लागि सडक निर्माण गर्न ढिला गरेको भन्दै स्थानीयले पकटपटक विरोधसमेत गरेका थिए । विरोधस्वरुप स्थानीयले सडकमा धानसमेत रोपेका थिए ।

अख्तियारमा फस्यो आर्कब्रिज
पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ रानीपौवा जोड्ने तुलसीघाटमाथि निर्माणाधिन ‘आर्कब्रिज’ पृथ्वीहाइवे र महेन्द्रपुलको जाम हटाउने वैकल्पिक बाटो हो । तर, आर्कब्रिज निर्माण गर्दा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि काम रोकिएको छ । निर्माण सम्झौता भन्दा अगावै सक्ने लक्ष्य राखिएको यो पुल अख्तियारमा उजुरी परेपनि निर्माण कम्पनी निराशामा परेको वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘समयमा काम नसक्ने ठेकेदारलाई सकिदिनुस् भन्नुपर्ने अवस्था छ । तुलसीघाटमाथि बनेको आर्कब्रिज, समयअगावै सक्ने लक्ष्य राखेको छ । अनि, विभिन्न अख्तियारमा झमेला गरिदिएपछि निर्माण कम्पनी निराशामा पर्दैनन् ?’ उनको प्रश्न छ ।

अख्तियारमा उजुरीको झमेलाबाट बाहिर निस्केर अहिले निर्माण कम्पनीले काम सुरु गर्ने तयारीमा रहेको उनले बताए । ‘अहिले काम सुरु गर्ने भन्ने भएको छ । काम बाँकी जम्मा १०÷१५ दिनको हो । बाँकी सबै काम त सकियो । केबल सामान्य काम बाँकी हुँदा वैकल्पिक बाटो नै राकियो,’ उनले भने । पोखराको इन्द्रेणी निर्माण कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ करोड ८० लाख रुपैयाँ लागतमा तुलसीघाटमा पुल निर्माणको ठेक्का पाएको हो । ‘आर्कब्रिज’ पुल ६५ मिटर लामो र ११ मिटर चौडाइको रहेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया