सम्पादकीय—खानेपानी पूर्वाधारमा थप प्रगति

समाधान संवाददाता २०८२ वैशाख १५ गते १०:०१

पोखरामा जापानी सहयोगमा मर्दी खोला खानेपानी आयोजना हालै सम्पन्न भएको छ । र त्यसबाट शुद्धीकरणसहितको पानी वितरण थालिएको छ । यद्यपि खानेपानीको माग र आपूर्तिको सन्तुलन भने मिलिसकेको छैन । पोखरा महानगरपालिकाले नयाँ तीन वटा बृहत् आयोजना सुरु गर्ने गरी संघीय सरकारसँग समझदारी गरेको छ ।

Advertisement


जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान सहयोगमा मर्दी खोला खानेपानी आयोजना सम्पन्न भएको हो । यो आयोजनाबाट दैनिक ४ करोड १० लाख लिटर प्रशोधित पानी आपूर्ति भएको छ । पोखरा महानगरपालिका ११, २१ र ३३ मा काँहुधरहरा, भरतपोखरी–निर्मलपोखरी–कृस्ती र मट्टीखान गरी तीनवटा ठूला खानेपानी आयोजना निर्माणका लागि संघीय सरकार, पोखरा महानगरपालिका र स्थानीय उपभोक्ता समितिबीच त्रिपक्षीय समझदारी शुक्रबार भएको छ । यी आयोजनाहरूमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने समझदारीपत्रमा छ । संघीय सरकारले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लागत समझदारी गर्न महानगरपालिका सफल भएको छ ।


नयाँ आयोजनाबाट काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । यी ठाउँहरु महानगरपालिका भइकन पनि खानेपानीको आधारभूत आवश्यकता पूरा गर्न चुनौती सामना गरिरहेका ठाउँ हुन् । अग्ला डाँडामा पानीको स्रोतको अभाव र टाढाबाट ल्याइएको पानीका पाइप लगायत पूर्वाधार भरपर्दाे भएनन् । तसर्थ त्यहाँ भरपर्दाे आयोजनाको आवश्यकता खट्किएको थियो । अब बन्ने आयोजनाले त्यो आवश्यकता पूरा गर्न सकोस् ।


खानेपानीको आपूर्ति भनेको अति आवश्यकता र आधारभूत आवश्यकता हो । यसले केवल तिर्खा मेटाउनेमात्रै काम गर्दैन । जीवनस्तर उकास्न र नागरिकहरूको संवैधानिक अधिकारलाई व्यवहारमा उतार्न समेत भरपर्दा खानेपानी आयोजना चाहिन्छ । नागरिकको आधारभूत आवश्यकता पूरा गर्न संघ र स्थानीय सरकारको हातेमालो हुनु सुखद र स्वागतयोग्य कदम हो ।

विकासका पूर्वाधारहरु सुरु हुने तर बेलामा नसकिने असाध्य रोगले नेपाललाई गाँजेको छ । यी ३ आयोजना अछुतो रहलान् भनेर अहिल्यै भन्न सकिन्न । अनेक बहानाबाजीमा आयोजना ढिला हुन्छन् । तर खानेपानी जस्तो महत्वपूर्ण आयोजनाहरु बेलामा पूरा भइदिए जनताले सुशासनको अनुभूति गर्न पाउने थिए ।

Advertisement

तपाईको प्रतिक्रिया