शिक्षक आन्दोलनको असर
निजी स्कुल खुले, सामुदायिक सुनसान

पोखरा । शिक्षक आन्दोलनका कारण पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले वैशाख ७ गते सूचना जारी गर्दै वैशाख ११ गतेदेखि पठनपाठन सुरु गर्न भन्यो । विद्यालय खुल्छ र नयाँ कक्षाबाट पढ्न पाउने रहरमा बसेका सामुदायिक विद्यालयका विद्यार्थीको सपना अझै साकार भएको छैन ।
तर, निजी विद्यालयमा पढाइ सुरु भइसकेको छ । यसले गर्दा शिक्षामा वर्ग छुट्टिएको आभाष भएको विद्यार्थीहरु बताउँछन् । पोखरा ३ बाल मन्दिर माविमा कक्षा १२ मा अध्ययनरत तेजप्रसाद ढकाल शिक्षकहरुको आन्दोलनले शिक्षामा वर्ग भेद भएको बताउँछन् । ‘धनी अनि हुनेखानेका विद्यार्थीहरु बोर्डिङ पढ्छन् उनीहरु अहिले पढिरहको छन्,’ उनले भने, ‘सरकारी स्कुलमा पढ्ने भनेको हुँदा खानेका छोराछोरी हो उनीहरुको पढाइ कहिले देखि हुने हो थाहा छैन् । यसले पढाइमा पनि वर्ग भेद राम्रैसँग देखिएको छ ।’ जसले गर्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्नेतर्फ उनले सचेत गराए ।
आईतबार शिक्षक, प्रहरी बिचको झडपले झन आउदै गरेको कक्षा १२ को परीक्षा नै नहुने हो की भन्ने उनले शंका गरिरहेका छन् । ‘हाम्रो कोर्ष त सकियो । अहिले परीक्षाको तयारी गरिरहेका छौं । तर, शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ,’ उनले भने, ‘११ गतेबाट परीक्षाको तालिका थियो । त्यो पनि २१ लाई सारिएको छ । हिजो (आइतबार) को घटनाले झन शंका पैदा गराएको छ । परीक्षा नजिकिँदै गर्दा हामी अझ बढी तनावमा परेका छौं ।’
सरकार र शिक्षक दुवै पक्षलाई विद्यार्थीको भविष्यको ख्याल गर्न उनको आग्रह छ । ‘हामी शिक्षकहरूको माग न्यायोचित हो भन्ने बुझ्छौं, तर यसको प्रत्यक्ष असर हाम्रो भविष्यमा पर्न थालेको छ,’ उनले भने, ‘सरकार र शिक्षक दुवै पक्षलाई गरिव निमुखा विद्यार्थी जो सरकारी स्कुलमा पढ्छन् उनीहरूको भविष्यको ख्याल गर्न आग्रह गर्छौं । सहमति र संवादको माध्यमबाट छिटो समस्या समाधान गर्न जरुरी छ ।’
सामुदायिक विद्यालय नखुल्ने, संस्थागत खुल्नेको घटनाको मारमा सबैभन्दा बढी पोखरा महानगरभित्रका विद्यार्थीहरु परेका छन् । सामुदायिक विद्यालय नखुल्ने डरले सक्नेले बोर्डिङ स्कुलमा भर्ना गरिसकेका छन् । भने सक्दै नसक्नेहरु आन्दोलनमा पुगेका शिक्षक नै कुरेर बसिहेका छन् । पोखरा महानगरमा २०२ सामुदायिक (७८ मावि, १ सय २४ आधारभूत), संस्थागत २५१ (१६६ मावि, ८५ आधारभूत) विद्यालय छन् । त्यसैले पनि यहाँ शिक्षामा वर्ग भेद राम्रै देखिएको छ ।
यस्तो अवस्था देखिएपछि आइतबार पोखरा नगर शिक्षा समितिको वैठक बसेको थियो । उक्त वैठकले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो ।
महानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।’ शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले महानगरले पठनपाठनलाई नियमित बनाउने निर्णय लिएको जनाएको छ ।
कास्कीको गाउँपालिकामा धेरै सामुदायिक विद्यालय छन् । जसले गर्दा त्यहाँका विद्यार्थीहरु शिक्षकको पर्खाईमा छन् । यहाँको अन्नपूर्ण गाउँपालिका ५३ सामुदायिक (१६ माबि, ३७ आधारभूत) र संस्थागत ४ (२ माबि, २ आधारभूत), माछापुच्छ«े गाउँपालिका सामुदायिक ४६ र संस्थागत १, मादी गाउँपालिका ५२ सामुदायिक (माबि १०, आधारभूत ४२), रुपा गाउँपालिका सामुदायिक २९ सामुदायिक (माबि १०, आधारभूत १९) र संस्थागत १ विद्यालय छन् । यस्तै परम्परागत तथा धार्मिक विद्यालय १२ वटा र सामुदायिक सिकाइ केन्द्र ३० वटा छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनका कारण कास्कीमा बोर्डिङ खुल्ने र सामुदायिक बन्द रहेको हो ।
यस्तो अवस्था देखेर अभिभावक पनि हैरानीमा छन् । राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेलले पोखरा महानगरको पत्र अनुसार अघि बढ्ने बताए । ‘विद्यार्थीहरुलाई पढाउनबाट बञ्चित गराउन त भएन् । काठमाडौंमा भएका सरहरुले उता आन्दोलन गर्ने यता भएकाहरुले पढाउने वा अर्को कुनै विकल्पको बारेमा विद्यालयमा वैठक बसेर टुङ्ग्याउने कुरा भएको छ,’ उनले भने, ‘सरकारले माग सुनुवाई नगर्ने अनि शिक्षकहरु पढाउन नआउने भएपछि सर्वसाधारणका छोराछोरी मारमा परिरहेका छन् ।’
शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्थागत विद्यालय खुल्ने अनि सामुदायिक बन्द हुँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने भएकाले यसलाई समाधान गर्न लागिरहेको बताए । ‘हामीले पालैपालो पढाउन पनि पढाउनुस, आन्दोलन पनि गर्नुस् विद्यालय छोड्न भएन् स्कुल रित्तिने भयो भनेका छौं । उहाँहरु पनि सकेसम्म समाधान खोज्ने तिर लाग्नुभएको छ अनि सरकार पनि लागेको छ । अब पढाइ अघि बढाउनै पर्ने अवस्था आएको छ,’ उनले भने, ‘संस्थागत र सामुदायिकमा भिन्नता देखिएको हामीलाई नरमाइलो लागेको छ । हामीले पनि स्कुल खोल्छौं भन्नेलाई बन्द गरेर राख्नुस पनि त भन्न भएन नि ।’ यो समस्या समाधानका लागि शिक्षकहरुमा माग सम्बोधनमा सरकारले नै पहल गरिदिनुपर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया