एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने

समाधान संवाददाता २०८१ मंसिर ५ गते १०:५६

पोखरा ।
नेकपा (एमाले)ले कास्कीका सबै वडा कमिटी अधिवेशन मंसिर भरीमा गर्ने निर्णय गरेको छ । जिल्ला, पालिका हुँदै सबै वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।

Advertisement


नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ कास्कीले आयोजना गरेको कार्यक्रममा मंसिर महिना भित्रमा कास्कीका सबै वडा कमिटीको अधिवेशन गर्ने बताए । उनले विगतका वर्षमा एमालेले सबै वडा कमिटी तथा पालिका कमिटीको एकै चोटि अधिवेशन गरेको स्मरण गराए ।


एमाले कास्कीको गत वर्षको चैतमा अधिवेशन भएको थियो । सबै पालिका कमिटीको अधिवेशन जेठ मसान्तसम्ममा भएका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले एमालेको नीगिगत प्रष्टता र सक्षम नेतृत्व भएता पनि कार्यकर्ता तहमा केही कमी कमजोरी भएकाले आत्म समीक्षा गर्नुपर्ने विचार राखे ।


एमालेको जनताको बहुदलीय जनवादको नीतिलाई पछ्याएर श्रीलंकामा कम्युनिस्ट पार्टीले चुनाव जितेको दाबी गर्दै उनले गर्दै एमालेका नेता तथा कार्यकर्ताले मन सानो गर्ने अवस्था नभएको जनाए । थापाले संघीय शासन व्यवस्थाप्रति अपनत्व लिएर काम गर्न सबैलाई सुझाव दिए ।


पार्टीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ कास्कीका इन्चार्ज तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पदेन सदस्यबाहेक निर्वाचन समन्वय कमिटीमा संयोजक, सहसंयोजक र सचिव तोक्न बाँकी रहेको जानकारी दिइन् । उनले जनप्रतिनिधि र पार्टीले एकापसमा समन्वय गरेर विकास निर्माणका काम गर्ने बताइन् ।

Advertisement


पार्टीका केन्द्रीय सदस्य प्रभा कोइरालाले पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् । एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले पोखरा महानगरमा उत्पन्न सबै समस्याको बारेमा पार्टी तथा जनप्रतिनिधिले बुझाइमा एकरुपता कायम गरी अगाडि बढ्ने जनाए ।


एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले संगठन गतिशील र पार्टी कमिटी चलायमान बन्नुपर्नेमा जोड दिए । उनले चुनावमा मात्र तात्ने परिपाटीले मिसन ८४ लाई सफल बनाउन नसकिने तर्क गरे ।

तपाईको प्रतिक्रिया