ट्रायल परिक्षा स्वच्छ बनाउन निर्देशन

समाधान संवाददाता २०८१ मंसिर १४ गते ११:३०

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालय निरीक्षण गरेका छन् । ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमिता गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिए ।

Advertisement


मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीसँग काम, कारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको उनले जानकारी गराए ।

कर्मचारी अभाव भएकाले निकै प्रेसर र अप्ठेरोमा काम गर्नु परेको यातायात व्यवस्था कार्यालयका अधिकारीहरुको गुनासो


चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए । व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुपर्ने मन्त्री केसीले बताए । ‘जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नू । राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोड्दिनू,’ उनले भने, ‘त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नू ।’


यातायात कार्यालयका निमित्त प्रमुख तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए । कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ वटा योजना परेका छन् । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताए ।

Advertisement


मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिए । काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दुःख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया