प्रदेशसभामा श्रवण शक्तिविहीन सुनीता, अपांगता समुदायको उत्साह

समाधान संवाददाता २०८१ मंसिर ३० गते ४:५२

पोखरा । गण्डकी प्रदेश सभामा शुक्रबार दिउँसो भिन्दै चहलपहल थियो । कोही सेती छडीको सहाराले ओहोरदोहोर गरिरहेका, कोही ह्विलचियरमा गुडिरहेका । कसैलाई दोभोसेले सांकेतिक भाषाबाट विषयवस्तुबारे बुझाइरहेका । यो अवसर जुटाएको हो, प्रदेश सभामा अपांगता (बहिरा) समुदायबाट प्रतिनिधित्वले ।

Advertisement

स्याङ्जा चापाकोटकी सुनीता थापाको नाम गएको आमचुनावमा नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ थिए ।

४ नम्बरसम्मका उम्मेदवार निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी थापा मत संख्यामा आधारमा प्रदेश सभामा जान पाइनन् । २ वर्ष ढिला भए पनि उनले यो मौका पाएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि रिक्त पदमा बन्दसूचीमा रहेका नामबाट नेपाली कांग्रेसले थापाको सिफारिस गर्‍यो ।

निर्वाचन आयोगले मंसिर २५ मा उनी निर्वाचित भएको प्रमाणपत्र दियो । उनको शपथसँगै गण्डकी प्रदेश सभामा अपांगता भएका व्यक्तिको पहिलोपटक प्रतिनिधित्व भएको छ । अर्को संयोग उनी प्रदेश सभाको सबैभन्दा कान्छी सदस्यसमेत बनेकी छन् ।


उनै सुनीताले शपथ ग्रहण गर्ने कार्यक्रम थियो शुक्रबार दिउँसो साढे १ बजे । बिहान ८ बजे नै काठमाडौंबाट उड्नेगरी जहाजको टिकट काटे पनि मौसमका कारण उनी पोखरा आउने ढिला भयो । १ बज्दा नबज्दै प्रदेश सभामा चहलपहल सुरु भइसकेको थियो । अपांगता क्षेत्रमा क्रियाशील अगुवाहरु प्रदेश सभा सचिवालय परिसरमा निकै उत्साहका साथ भेला भएका थिए । ३ बज्नै लाग्दा थापामगर समुदायको पोसाक लगाएर आमा मैना र हजुरआमा तीलकुमारीका साथ सुनीता आइपुगिन् ।

Advertisement

सांकेतिक भाषालाई राष्ट्रिय मान्यता र अपांगता भएकाहरुलाई सवारी चालक अनुमति पत्रको व्यवस्थामा पनि सुनीताले पहल गर्नुपर्छ


किसान तामाङ
अध्यक्ष, गण्डकी बहिरा संघ


३ बजेतिर उनलाई सभामुख कृष्णप्रसाद धितालले शपथ गराए । शपथ ग्रहण पनि अलि फरक खालको नै भयो । प्रदेश सभा सचिवालयका सचिवले कार्यक्रम सुरु गरेगत्तै दोभाषे रेणु शाहले सांकेतिक भाषाबाट थापालाई बुझाउँदै गइन् । राष्ट्रिय गान पनि सुनीताले सांकेतिक भाषाबाटै गाइन् । सभामुखले शपथको विवरण पढ्दा पनि उनले सांकेतिक भाषाबाटै शपथ लिइन् । शिक्षा संकायमा स्नातक उनलाई पढ्न समस्या छैन । तर पहिचानकै लागि उनले सांकेतिक भाषा प्रयोग गरिन् ।

शपथलगत्तै सभामुख, मन्त्री र उपसभामुखले बधाई दिएपछि आमा मैना र हजुरआमा तीलकुमारीले दुबोको माला पहि¥याइदिए, अनि सगुनका रुपमा दही खुवाइदिए । छोरी र नातिनीको सफलतामा उनीहरु निकै खुसी देखिए । अझै खुसी थिए, सिर्जना बहिरा स्कुलका प्रधानाध्यापक सुनील भण्डारी । भन्दै थिए, ‘सुनीता कानमात्र नसुन्ने हुन्, पढाइ र अरु क्रियाकलापमा जहिल्यै अब्बल हुन् ।’

२०४९ मा स्याङ्जाको चापाकोट ९ सुन्तलीटारमा जन्मिएकी सुनीताले ११ वर्षको हुँदा श्रवणशक्ति गुमाएकी हुन् । ‘६ कक्षा पढ्दै गर्दा टाइफाइड भएपछि त्यसैका कारण मैले श्रवण शक्ति गुमाएकी हुँ,’ उनले भनिन् । २०६५ मा एसएलसी उत्तीर्ण भएपछि पोखराको सिर्जना बहिरा माविमा कक्षा ११ र १२ पढेकी उनले महेन्द्ररत्न क्याम्पस काठमाडौंबाट स्नातक गरेकी छन् ।

कांग्रेसको राजनीतिमा क्रियाशील उनी अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि संघर्षरत छन् । सुनीताले जापानमा क्षमता अभिवृद्धिसम्बन्धी १० महिने तालिमसमेत लिएकी छन् । संयुक्त राष्ट्र संघको सहयोगमा विभिन्न देश पुगेर नेतृत्व विकास कार्यक्रममा सहभागी भएकी छन् । उनले स्याङ्जा बहिरा संघ अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ गण्डकी अध्यक्ष, राष्ट्रिय अपांग महासंग गण्डकी कोषाध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ केन्द्रीय सदस्य भई भूमिका निर्वाह गरिसकेकी छन् ।

गण्डकी बहिरा संघ अध्यक्ष किसान तामाङले प्रदेशमा पहिलोपटक अपांगता भएको व्यक्तिको प्रतिनिधित्व भएकाले अब अपांगता क्षेत्रको अधिकार, बहिराको आवश्यकताको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अब सांकेतिक भाषालाई राष्ट्रिय मान्यता र अपांगता भएका व्यक्तिहरुलाई सवारी चालक अनुमति पत्रको व्यवस्थामा पनि सुनीताले पहल गर्नुपर्ने भनाइ राखे ।

राष्ट्रिय अपांग महासंघकी आशा गुरुङ श्रवण शक्ति नभएको, जनजाति महिलाको प्रदेश सभामा पहिलोपटक प्रतिनिधित्व हुनुले धेरै महत्व राख्ने बताउँछिन् । अब यस समुदायका व्यक्तिहरुको आवाज प्रदेश सभामा उठ्ने र यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको अपेक्षा छ ।

दृष्टिविहीन शिक्षक श्रीकान्त सापकोटाले अपांगता भएकाहरुले भौग्दै आएका समस्यालाई प्रदेश सभामा आर्फैले राख्नु पाउनु ठूलो अवसर भएको बताए । ‘एकातिर भौतिक अवरोध, अर्कोतिर सामाजिक परिवेश लगायतका कारणले हामीले समस्या खेप्दै आएका छौं, यसको अन्त्यका लागि सबै क्षेत्रमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ, प्रदेश सभामा पनि त्यो भयो,’ उनले भने ।

राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश उपाध्यक्ष अञ्जना केसी अपांगता अधिकारका लागि सँगै जुधिरहेको साथी प्रदेश सभामा प्रतिनिधित्व गरेको देख्न पाउँदा निकै खुसी लागेको बताउँछिन् । विभिन्न संरचनामा अपांगता भएकाहरुको सहभागिता नभएकै कारण उनीहरुका मुद्दा पछाडि परेको उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारमा समान सहभागिता र भौतिर संरचना परिवर्तन र १० प्रकारको अपांगता भएका व्यक्तिको समस्याको कसरी हामीले समाधान गर्न सकिन्छ भन्ने आवाज उठ्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन् ।

स्वावलम्बन जीवन पद्धति नेपाल अध्यक्ष हेम गुरुङ राजनीतिक समावेशीकरणको व्यवस्था अनुसार प्रदेश सभामा अपांगताका भएकाहरुको तर्फबाट प्रतिनिधित्व हुनु आर्फैमा गौरवको विषय रहेको बताउँछन् । ‘यो हाम्रो इतिहासकै सुन्दर क्षण हो, यसलाई हामीले गौरवका साथ हेरेका छौं, राष्ट्र निर्माणमा अपांगता भएका व्यक्तिहरुले पनि भूमिका निर्वाह गर्न सक्छन् भन्ने यसले देखाएको छ,’ उनले भने ।

नीति नियम बनाउन लाग्छु : सुनीता
शपथ लिएलगत्तै पत्रकारलाई प्रतिक्रिया दिँदै प्रदेश सभा सदस्य थापाले अपांगता भएका व्यक्ति र आवाजविहीनहरुका लागि नीति, नियम र योजना बनाउन लाग्ने बताइन् ।

‘अपांगता क्षेत्रमा कार्यक्रम बनाउने पुलको भूमिका पनि खेल्नेछु,’ उनले भनिन् । संविधानमा भएका अधिकार प्रयोग नभएको भन्दै ती अधिकार प्रयोग गर्ने कोसिस गर्ने उनको भनाइ छ । अहिले धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने बेला रहेको र सबैको साथ सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता थापाले जनाइन् ।

प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति उनले दुख व्यक्त गरिन् । ‘विमला दिदीको मृत्युले निकै दुखी छु, त्यो दुखलाई शक्तिमा परिवर्तन गर्ने साहसका लागि उहाँको सपना पूरा गर्ने दायित्व ममाथि आएको छ,’ उनले थपिन् ।

तपाईको प्रतिक्रिया