गण्डकी बहुप्राविधिक शिक्षालयमा नयाँ भर्ना भएका स्वागत

समाधान संवाददाता २०८१ मंसिर ३० गते १८:५८

पोखरा । पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा नयाँ भर्ना भएका विद्यार्थीलाई आइतबार स्वागत गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समिति अध्यक्ष धनराज आचार्यको उपस्थितिमा विद्यार्थीलाई स्वागत गरिएको हो ।

Advertisement

प्राविधिक शिक्षाको आवश्यकता मध्यनजर गरी महानगरद्वारा सञ्चालन गरिएको शिक्षालयमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालनमा छन् । प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व सिकाइको मान्यताको सीप परीक्षण, टायल तथा मार्बल फिक्सरका सीप परीक्षण, बिल्डिङ कन्स्ट्रक्सन, बिल्डिङ् पेन्टर सीप परीक्षण र विद्यालय तहमा आधारभूत प्राविधिक शिक्षा एव सीप हस्तान्तरणका लागि छोटो अवधिका पाठ्यक्रमसमेत लागू गरिएको छ ।

शिक्षालयमा अहिले ४ सय २ विद्यार्थी छन् । शिक्षालयको नतिजा देशभर सञ्चालित प्राविधिक शिक्षालयमध्ये उत्कृष्ट छ । डिप्लोमा इन अटोमोबाइलका उजेन उदासले ९३.७५ प्रतिशत अंकसहित देशभरबाट उत्कृष्ट नतिजा हाँसिल गरेका छन् । छोटो अवधिको तालिमपश्चात् ५० प्रतिशतभन्दा बढी विद्यार्थी व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।

राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा सहभागिताको ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् । समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव बढाउन विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिइएको नगर प्रमुख आचार्यले बताए । आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङका कक्षा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदलसमेत गठन गरिएको छ ।

शिक्षालयबाट ८८ विद्यार्थी पास आउट भइसकेका छन् । शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले पोखरा महानगर र यो क्षेत्रको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षालय क्रियाशील गरेको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया