माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषद्वारा हेडसर, अध्यक्ष र विद्यार्थी सम्मानित

समाधान संवाददाता २०८१ पुष ५ गते १९:३९
0-3248x1440-0-0#

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको १३ औँ साधारणसभा शुक्रबार पोखरामा भएको छ । कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र माछापुच्छ्रे मावि भुर्जुङखोलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमबहादुर गुरुङलाई सम्मान गरिएको छ ।

Advertisement


विद्यालयको विकासका लागि विशेष योगदान पुर्‍याएकोमा उनीहरूलाई सम्मान गरिएको सचिव मनिराम कँडेलले बताए । २०८० को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि जनही ३ हजार रुपियाँसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा माछापुच्छ«् माविका सौगात रेग्मी, निष्पक्ष मावि, माछापुच्छे गाउँपालिकाका पर्वत दाहाल, सिर्जना मावि, अन्नपूर्णका प्रवीण कुँवर, कालिका मावि, रूपाका आभार पौडेल, छोरेपाटन माविका सोहन कार्की र तालबाराही माविका कस्मित खनाल छन् ।


कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख गोविन्दराज पोखरेलले परीक्षाले विद्यार्थीको सिकाइलाई बलियो बनाउने भएकाले आवधिक परीक्षाहरू लिइनुपर्ने धारणा राखे । उनले औपचारिक रूपमा एसइई पूर्व योग्यता परीक्षा लिन नपाइने भनिए पनि माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषले सञ्चालन गर्दै आएको कक्षा १० र ११ को परीक्षा प्रशंसनीय रहेको बताए ।

प्रधानाध्यापक खटेको र आफ्ना कार्ययोजनामा विद्यालय व्यवस्थापन समितिका माध्यमबाट अघि बढेको विद्यालयको गुणस्तर राम्रो भएको बताउँदै पोखरेलले पढाइको माध्यम महत्त्वपूर्ण नभई सिकाइ महŒवपूर्ण भएको बताए । उनले प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै माध्यममा दिनुपर्नेमा परीक्षा बोर्ड सकारात्मक भएको जानकारी दिए ।

कोषका अध्यक्ष शम्भुराज बास्तोलाले परीक्षा लिन पाउने र नपाउने भन्ने कुरा गर्न नहुने बरु यसलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले कोषले कक्षा १० र ११ को परीक्षा सञ्चालन मात्र नगरी विद्यालयहरूका बिचमा भाइचाराको सम्बन्ध स्थापित गरेको दाबीसमेत गरे । विद्यालय, शिक्षक, विद्यार्थी र पढाइ रहेसम्म परीक्षा रहने उनको तर्क छ ।

Advertisement


सभाले सचिव मनिराम कँडेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणिराज परियारको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज पौडेल, पूर्व अध्यक्ष मित्रलाल सापकोटा, नेपाल शिक्षक महासंघ सहअध्यक्ष डिल्लीराम बराल, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्मानित बमबहादुर गुरुङ र बाबुराम अधिकारी, कक्षा ११ को परीक्षा सम्पादन समितिका तर्फबाट जगन्नाथ अधिकारी, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोला, उपाध्यक्ष जनार्दन सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया