सरकारी स्कुलले छात्रबास र बस चलाउनुपर्छः सञ्चार मन्त्री गुरुङ

समाधान संवाददाता २०८१ पुष ६ गते १९:०१

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात र परिचयपत्रहरु चाँडै देशभित्रै छापिने उल्लेख गरेका छन् । मन्त्री गुरुङले राहदानी, सवारी चालक अनुमतिपत्र, बैंक नोट, अन्तर्शुल्क स्टिकर, लालपुर्जा लगायतका सामग्री देशभित्रै छाप्ने तयारीमा सरकार लागेको जनाए । ।

Advertisement

बराह माध्यमिक विद्यालय माछापुच्छ्रे–६, कास्कीमा आयोजित कार्यक्रममा उनले सुरक्षा र खर्च कटौती गर्न पनि यसो गर्नु जरुरी रहेको औंल्याए । “सबैजसो सरकारी कागजात र परिचयपत्रहरु विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट(राहदानी) नेपालमै छाप्छौँ,” उनले भने “बैंक नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छाैँ ।”

उनले देशमा अराजकता, अस्तव्यता बढ्दै गएर मुलुक असफल हुने दिशामा जाँदै गर्दा त्यसलाई रोक्द दुई ठूला दल मिल्नुपरेको बताए । सरकार गठन भएको पाँच महिनामा देखिने गरी ठूला परिवर्तन नभएको भए पनि समस्याहरु पहिचान गरी समृद्धिको यात्रा थालिएको उनको भनाइ छ ।

“देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उनले भने । देशमा प्रमुख राजनीतिक दलहरुले ठूला ठूला आन्दोलन, क्रान्तिहरुको सफल नेतृत्व गरेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंंल्याए ।

Advertisement

सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधामात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रष्ट पार्नुभयो । “ऐन, कानुन, नीतिहरु बदल्दैअघि बढ्नुपर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरी इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पुर्‍याउन लागी परेकोसमेत जनाए । पहिले लहडका भरमा विद्यालयहरु खोलिँदा अहिले अनेक समस्या आएको उनको भनाइ छ । “अध्ययन नगरी, पछि आउन सक्ने बसाइसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उनले थपे, “अब सरकारी विद्यालयहरुले पनि स्कुल बसको सुविधा र छात्राबास सुरु गर्नुपर्छ । हरेक गाउँमा स्कुलहरु चल्ने अवस्था नहुँदा छात्राबास र बस अनिवार्य हुँदै गएको छ ।”


नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औंल्याउँदै उनले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गरे । उनले भने , “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ । अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सीप भएको, क्षमतावान् र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नुपर्छ ।”
२०२४ मा स्थापना भएको बराह माविले प्लस टुमा भेटेरिनरी अध्यापन गराउने गरेको छ । विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिए । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुआत गरिएको छ ।

तपाईको प्रतिक्रिया