रवि लामिछानेलाई अदालत उपस्थित गराइयो, आजै मुद्दा दर्ता गरिने

समाधान संवाददाता २०८१ पुष ७ गते ११:४८
फाइल फोटो

पोखरा ।
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Advertisement

सहकारी ठगी, सम्पत्ति शद्धीकरण र संगठित अपराधको कसुरमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो ।

आइतबार उनीसहित अन्य ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गर्ने भएको छ ।

लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल, कर्मचारी लीला पछाईं, पूर्व सञ्चालक कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यसपछि लामिछाने हिरासतमा छन् । पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पु¥याई सरकारी वकिलको कार्यालयले पुरक अभियोग पत्र दर्ता गरेको थियो ।

Advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्दा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । शुक्रबार राति १२ बजे उक्त म्याद सकिएको थियो । शनिबार बिदा भएकाले आइतबारमात्र अभियोगपत्र दर्ता गर्ने लागिएको हो । थुनछेक बहसपछि पुर्पक्षाका लागि थुनामा पठाउने, साधारण तारिखमा छाड्ने वा धरौटीमा छाड्नेमध्ये एक निर्णय अदालतबाट आउनेछ । शुक्रबार भने सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वअध्यक्ष जितेन्द्रबहादुर(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोग र बिगोसमेत थप गरी पुरक अभियोग पत्र शुक्रबार अदालतमा पेस छ ।

लामिछानेमाथि कस्तो अभियोग लाग्छ, आइतबार मात्र पत्ता लाग्नेछ । शुक्रबार पुरक अभियोग दर्ता भएको मधये ६ पुर्पक्षका लागि कास्की कारागारमा छन् भने ३ जना अन्य जिल्लाका कारागारमा थुनामा छन् । प्रतिवादी बनाइएका १० जना फरार छन् । उनीहरू सबैविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । सूर्यदर्शन सहकारीको सहकारी ठगी गरिएको भन्दै १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो र ८ देखि १० वर्ष कैद सजाय माग, दाबी गरिएको थियो ।

तपाईको प्रतिक्रिया