जलवायु परिवर्तनले जीवनशैली फेरियो

समाधान संवाददाता २०८१ पुष १४ गते १८:३४

पोखरा । जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मासबारस्थित मदरल्यान्ड माविमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ ।

Advertisement

चित्रकला, भित्ते म्यागेजिन, जलवायुबारे ओलम्पियाड र जलवायु बहस लगायतका कार्यक्रमबाट जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिइएको हो ।

विद्यालयका प्राचार्य डा‍ नारायण बरालले मदरल्यान्ड मावि, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क, जिस्ट इन्टरनेसनल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थी र विश्वविद्यालयका प्राध्यापक सहभागी रहेको जानकारी दिए ।

जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकाले बेलैमा सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।


‘जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको छ । मौसममा परिवर्तन आउँदा विभिन्न समस्या थपिन थालेका छन्,’ उनले भने, ‘मौसममा बदलाव आएसँगै मानव जीवनमा पनि असर परेको छ । थाहै नपाउने गरी मानव जीवनमा परिवर्तन आएको छ । यसलाई चिर्न जरुरी छ ।’

Advertisement

विद्यार्थीमार्फत जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि सचेतना फैलाउने प्रयास गरिएको उनले बताए । अमेरिका, अस्ट्रेलिया, भारत, बंगलादेश र भीयतनामका विभिन्न विश्वविद्यालयका प्राध्यापक सहभागी थिए । त्यसबाहेक विभिन्न मुलुकका स्कुले विद्यार्थी पनि सहभागी थिए ।

नेपालभित्रैका विभिन्न विद्यालयबाट समेत विद्यार्थी यो कार्यक्रमका सहभागी थिए । ती विद्यार्थीले चित्रकला, भित्ते म्यागेजिन, जलवायु ओलम्पियाड र जलवायुबारे बहस गर्दै प्रतिश्पर्धा गरेका थिए । विभिन्न विधामा भएको प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई उक्त अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

विद्यालयका प्लस २ इन्चार्ज नारायण आचार्यले विदेशी र स्वदेशी विद्यार्थी र विज्ञबिचको अनुभव साटासाटले जलवायु परिवर्तनको असर घटाउन नयाँ तौरतरिका थाहा हुने बताए । ‘विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असरलाई फरक फरक शैलीमा बुझेका छन् । सबैतिर एकै खालको प्रभाव नहुन सक्छ । त्यसैले अनुभव साट्ने यो अवसरले विद्यार्थीमा नयाँ ज्ञान हासिल हुनेछ,’ आचार्यले भने, ‘एकअर्का मुलुकमा परेको असरबारे पनि ज्ञान आदानप्रदान हुनेछ ।’

कार्यक्रममा जलवायु परिर्वतनको क्षेत्रमा काम गर्न सक्रिय संस्था जिस्ट ग्लोबलका अध्यक्ष डा सब्यासाची मजुमदारले पछिल्लो समय जलवायु परिवर्तको असर प्रत्यक्ष देख्न सकिने अवस्था रहेको बताए । हिउँ पर्ने हिमाल अहिले कालो देखिने पनि उनले बताए ।

‘हिमालमा हिउ पग्लने गति बढेको छ । हामीले यस्तै सम्मेलनमार्फत बालबालिकालाई जलवायु परिवर्तनको असर कुन तहसम्म परेको छ भनेर बुझाउन जरुरी छ,’ मजुमदारले भने, ‘अहिलेका बालबालिका भविश्यका अभिभावक हुन् । उनीहरुलाई जलवायु परिवर्तनले पारेको असर बारे बेलैमा बुझाउन पाएमा भविश्य उज्ज्वल बन्न सक्छ ।’ मजुमदारले जलवायु परिवर्तनको कारण मानवले जीवनशैली नै परिवर्तन गर्न जरुरी पर्ने अवस्था आएको पनि बताए ।

तपाईको प्रतिक्रिया