सामाजिक विकास कार्यालय तनहुँ नयाँ भवनमा

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्रीले आफ्नो सम्बोधनमा स्थानीय स्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, खेलकुद र युवाहरुका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले कार्यालयमा सेवा प्रवाह चुस्त, दुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशनसमेत दिएका छन् । ‘कार्यालय भवन निर्माण गरेरमात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस्’, उनले भने । प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनको छ ।
गण्डकी प्रदेशका सांसद जितप्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडि परेका वर्गका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उनले जोड दिए ।
सांसद अशोककुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गरे । जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले मानवीय र सामाजिक क्षेत्रको विकास नै आजको आवश्यकता रहेको बताए । सामाजिक विकास कार्यालय तनहुँको नवनिर्मित भवनबाट शिक्षा, संस्कृति र खेलकुदको क्षेत्रमा सेवा प्रवाह गर्न ठूलो सहयोग पुग्ने विश्वास उनको छ ।
व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक र शिक्षा क्षेत्रलाई सुधार गर्न उक्त कार्यालय प्रभावकारी बन्ने उल्लेख गरे । स्थानीय तहसँग मिलेर योजना अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भौतिक संरचनासँगै सेवामा स्थानीय तह पनि मिलेर काम गर्न इच्छुक रहेको भनाइ उनको छ ।
तनहुँका प्रमुुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले भौतिक संरचनासँग सेवा प्रवाहसमेत स्मार्ट हुन आवश्यक रहेको बताए । ‘राम्रा भवन, राम्रा सवारीमा हिडेरमात्र भएन, सेवा प्रवाहमा गुणस्तरीयता आउनुपर्यो’, उनले भने ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया