नेकपा एसको गण्डकी अधिवेशन माघ २६ र २७ मा, ४ सय ५० जना प्रतिनिधि

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीले प्रथम अधिवेशन गर्न लागेको छ । आगामी माघ २६ र २७ गते पोखरा हुने अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका ४ सय ५० जना प्रतिनिधिले भाग लिने प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव श्रीनाथ बरालले जानकारी दिए ।
अधिवेशन गर्न अध्यक्ष बरालको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक कमिटी र विभिन्न १२ उपसमिति गठन गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
अध्यक्ष बरालका अनुसार अधिवेशनका लागि ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने व्यवस्था छ । प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । प्रत्येक संघीय क्षेत्रबाट ३ प्रतिनिधि चयन हुँदा १ महिला अनिवार्य गरेको जानकारी दिँदै अध्यक्ष बरालले ५ प्रतिनिधि चयन हुँदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरेको बताए । उनले प्रत्येक जिल्लाबाट १ जना मजदुरसमेत अनिवार्य गरेको उल्लेख गरे ।
पार्टीका जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिध चयन गर्ने व्यवस्था मिलाइएको छ । ५० स्वयंसेवक र आयोजक गरी ६ सय जनाको सहभागिता अधिवेशनमा सहभागिता जनाउने छन् । अध्यक्ष बरालले अधिवेशनमा प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा समेत छलफल केन्द्रित गर्ने बताए ।
‘गण्डकी प्रदेशका जनताको जनजीविका र प्रदेशको सन्तुलित तथा समावेशी विकासको सवालमा समेत अधिवेशनमा बहस हुने छ,’ उनले भने, ‘आर्थिक समृद्धि र दिगो विकासका विषयमा समेत छलफल गर्ने कार्यक्रम छ ।’ उनले प्रतिनिधि प्रवेश शुल्कका अलवा पार्टीका आर्थिक अवस्था बलियो भएका सदस्यसँग सहयोगका लागि अनुरोध गर्ने जनाए ।
नेकपा (एस)ले आगामी चैतसम्म सबै प्रदेशको अधिवेशन सक्नुपर्ने निर्णय गरेको छ । अहिलेसम्म कर्णाली प्रदेशको मात्रै अधिवेशन भएको छ ।
तपाईको प्रतिक्रिया