गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समितिको बैठक

नाङ्ले पसल थाप्ने कर्मचारी युनियन खारेज गर्न सुझाव

समाधान संवाददाता २०८१ पुष २१ गते ५:४६

पोखरा । निजामती कर्मचारीका संघ संगठन खारेजी हुनुपर्ने आवाज संघमा उठिरहेका बेला गण्डकीका सांसदहरुले पनि त्यसैलाई समर्थन गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा बसेको प्रदेश सभा अन्तर्गत सार्वजनिक लेखासमितिको बैठकमा सांसदहरुले कर्मचारीका संगठन खारेज हुनुपर्ने बताएका हुन् ।

Advertisement

पूर्वमुख्यमन्त्री समेत रहेको एमाले संसदीय दलका नेता खगराज अधिकारीले कर्मचरीहरुको दलैपिच्छेका संगठन हुन नहुने भन्दै एउटैमात्र आधारिक ट्रेड युनियन रहनु पर्ने बताए । कर्मचारीका संगठन कामभन्दा पनि पायक पर्ने र अनुकुलका ठाउँमा सरुवाका लागि गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘कर्मचारीहरुले पायक परीपरी मन्त्रालय मन्त्रालय फेर्ने गर्छन्, त्यसको मेरिटोक्रेसी के हो, कुन महिनामा को जाने हो, आफू अनुकुलता घुमाएर गर्नु भएन नि ।’


धाएर हुन्छ कि युनियनको फोर्स लगाएर हुन्छ आफूले चाहेको ठाउँमा जानै पर्ने भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । प्रभावकारी कामका लागि मुख्यमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग सचिवले सहसचिवसँग कार्यसम्पादन सम्झौता गर्नु पर्ने उनको सुझाव थियो । उनले थपे, ‘काम अनुसार कार्यसम्पादन मूल्यांकनको नम्बर दिइनु प¥यो । यसपछि म कहाँ जाने हो कर्मचारीले पहिल्यै थाहा पाउनु पर्‍यो ।’

कांग्रेस सांसद द्रोणकुमार कुँवरले नाङ्ले पसल थाप्ने कर्मचारी युनियन खारेज गर्न माग गरे । उनले भने, ‘एउटामात्र राखौं राष्ट्रिय युनियन जसले प्रदेश सरकारलाई स्थायित्व दिन्छ, सुशासन पनि कायम गर्न सक्छ, कामको डेलिभरी पनि समयमा हुनसक्छ ।’ उनले सुशासनको कुरा धेरै आएको भन्दै लोकसेवाबाट जति कर्मचारी राखे पनि प्रदेश सरकार र सुशासनप्रति उत्तरदायी नभएको बताए । ‘मेरो फरक मत के भने ५० प्रतिशत कर्मचारी अस्थायी वा करारमा राखौं । जो सरकारमा आउँछ उसले ५० प्रतिशत कर्मचारी करारमा राख्छ । जस पनि लिन्छ, अपजस पनि लिन्छ । सरकारको पर्फमेन्स देखिन्छ ।’ हायर एन्ड फायर प्रणाली लागु गर्ने, काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई कारबाही गर्ने पद्धति बसाउनुपर्ने उनको सुझाव थियो । प्रदेश सरकारले यो आँट गर्ने सके सुशासन कायम हुने र प्रदेशको ‘ब्युटी’ झल्किने भनाइ सांसद कुँवरको थियो ।

युनियनको फोर्स लगाएर हुन्छ आफूले चाहेको ठाउँमा जानै पर्ने भन्ने मनोदशा अन्त्य हुनुपर्छ :

Advertisement

पूर्वमुख्यमन्त्री खगराज अधिकारी

पूर्व मन्त्री समेत रहेका माओवादी सांसद रेशम जुग्जालीले मन्त्रालय र कार्यालयमा स्थायी कर्मचारीबाट काम लिन सकिने अवस्था नै नरहेको बताए । उनले भने, ‘मन्त्रालय धानेको करार कर्मचारीले नै हो । हाकिमको पनि हाकिम छ कर्मचारीतन्त्रमा, हाकिमले आफूभन्दा तलकोलाई निर्देशन गर्छ, तलकोले अस्थायीलाई गर्छ ।’ फिल्डमा काम गर्ने, रातो दिन नभनी दौडने अस्थायी कर्मचारी नै रहेको उनले उल्लेख गरे । अस्थायी र करारकालाई जागिरबाट निक्लिनुपर्ला कि भन्ने डर हुँदो रहेछ भन्दै जसले रातदिन काम गर्छ उसलाई सुविधा भने निकै कम हुने अनुभव सुनाए । उनले थपे, ‘स्थायी कर्मचारीलाई त के छ भने बेस्सरी भए सरुवा गर्ने त हो, उसको जागिर जाने कुनै प्रावधान छैन ।’ यस विषयमा उनले मुख्यमन्त्री कार्यालयबाट नियमित अनुगमन गर्नका लागि मुख्यमन्त्री र प्रमुख सचिवको ध्यानाकर्षण गराए ।
….

तपाईको प्रतिक्रिया