अली मियाँको गाउँमा साहित्य पर्व

राजनीतिज्ञहरुमा साहित्यप्रतिको चाख बढी भयो भने त्यो खतरनाक हुन्छ : अभि सुवेदीले

समाधान संवाददाता २०८१ पुष २१ गते ६:१६

पोखरा ।

Advertisement

घर त मेरो लथालिङ पालीमात्रै छाउछु,
वर्खा खानुपर्ने छैन बालीमात्रै लाउछु
जसका पनि दुई नजर बराबरी हेर्ने,
कैले मौका पर्ला हजुर यो काँचुली फेर्ने ?
आकाशमा बादलु डम्मै छ
मनमा के छ भन्ने सम्मै छ

कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले कार्यक्रमको सुरुवात यही गीतबाट गरे । लोककवि अली मियाँको जन्मथलो मियाँपाटनबाट नजिकै पोखरा १३ को वडा कार्यालयमा शनिबार साहित्य पर्व आयोजना गरियो ।

पर्वमा विभिन्न रुपरेखामा ‘सेसन’ चले । सेसनका वक्ताहरु कसैले मियाँका योगदान सम्झिए, केहीले गीत गाए, कोही कवितामा भुले । समग्रमा कार्यक्रम अवधिभर साहित्यका चचाए चल्यो । ‘सब शब्दहरु जीवनका रंगहरु बन्छन्…’ नारासहित सुरु भएको पर्वमा प्रमुख वक्ता डा अभि सुवेदीले ‘वर्तमानले देखेको र भविष्यले खोजेको साहित्य’ विषयमा चर्चा गरेका थिए ।

उनले पोखरा १३ मा जन्मिएका मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देल लगायतलाई सम्बोधनमै सम्झिए । डा सुवेदीले राणाकालीन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषय उठान गरे ।

Advertisement

‘जुद्धशमशेर प्रधानमन्त्री हुने बेलामा जतासुकै लेख्न हुँदैन, ल पत्रिका चलाओ भनेर सहमति दिनुभयो । त्यसपछि ऋद्धिबहादुर मल्ल सम्पादक भएर सञ्चालनमा आएपछि धेरै स्वतन्त्र अभिव्यक्तिहरु आए,’ उनले भने । यसरी सुरु भएको नेपाली साहित्यको भविष्य कस्तो हुन्छ भन्नेमा चिन्ता व्यक्त गरे ।

पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा सुवेदीले उठान गरे । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क छ । भविष्यले चुनौती र समस्या दिने भएकाले त्यसलाई चिरेरअघि बढ्नु अर्को चुनौती रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्यप्रतिको चाख बढी भयो भने त्यो खतरनाक हुन्छ,’ सुवेदीले दाबी भने ।


कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरे । उनीहरुले समाज परिवर्तनका लागि गीत, गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाबारे चर्चा गरेका थिए ।

‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरे । नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियार लगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरे ।

‘लोककवि अली मियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग मियाँलाई सम्झे । अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँगे सांगीतिक जीवन यात्राबारे संवाद गरिन् ।
कार्यक्रममा कविता, ¥याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रम स्थल नजिकै वडाभित्रका कलाकारले बनाएका चित्रकला प्रदर्शनी पनि गरिएको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गरिएको सुनाए । अर्को वर्ष पनि कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनको वाचा छ ।

तपाईको प्रतिक्रिया