भगवती माविका विद्यार्थीलाई स्टेशनरी तथा नगद वितरण

समाधान संवाददाता २०८१ पुष २३ गते १६:४६

अन्नपूर्ण ।
अन्नपूर्ण ९, तिखेढुंगास्थित भगवती माध्यमिक विद्यालयमा सोमबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टले विद्यार्थी तथा शिक्षकलाई स्टेसनरी एवं शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ ।

Advertisement


कार्यक्रममा ट्रस्टका अध्यक्ष रामबहादुर गुरुङले विद्यार्थीमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि विगत १० वर्षदेखि बर्सेनि यस विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा नगद पुरस्कार प्रदान गर्दै आएको बताए । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले स्थानीय सरकारले गर्नुपर्ने धेरै कामहरूमा विभिन्न सामाजिक संस्थाहरूले सहयोग गरेको सुनाए ।


फाउन्डेसनका अध्यक्ष रामबहादुर गुरुङले प्रत्येक कक्षाबाट २.८ जिपिए वा सोभन्दा माथिल्लो जिपिए ल्याई उत्र्तीण हुन सफल उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने गरेको बताए । उनले यसवर्ष शैक्षिक सत्र २०८० मा उत्कृष्टता हासिल गर्ने १७ जना विद्यार्थीलाई नगद पुरस्कारका साथ विद्यालयका करिब १ सय १५ विद्यार्थी तथा कार्यरत १६ शिक्षकलाई समेत स्टेसनरी सहयोग गरिएको जानकारी दिए ।

यसैविच सावेत युके मिलन समाजको तर्फबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना विद्यार्थीलाई जनही बीस पाउण्डको दरले पुरस्कृत समेत गरिएको थियो ।


विशेष पुरस्कार अन्तर्गत अनुशासित विद्यार्थीको रूपमा कक्षा ७ का आयुष विक, उत्कृष्ट उपस्थितिका आधारमा कक्षा ९ की दीपिका गुरुङ, व्यक्तिगत सरसफाईतर्फ कक्षा ३ की करुणा विक र विद्यालयको सर्वोकृष्ट नतिजाका आधारमा कक्षा ५ की विद्यार्थी अंकिता गुरुङलाई पुरस्कृत गरियो ।

Advertisement


कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भरतमान गुरुङ, वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङ, वडा नम्बर ४ का वडा अध्यक्ष आइन्दल गुरुङ, प्रशासन शाखाका अधिकृत ठाकुरप्रसाद अधिकारी, विद्यालयका अर्थिक व्यवस्थापन समितिका संयोजक मेजर हितमान गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा स्थानीय आमा समूह र अभिभावकले व्यवस्थापकीय सहयोग गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ चन्द्रकुमारी गुरुङले स्वागत तथा शिक्षक खेमबहादुर पुनले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया