पोखरा विश्वविद्यालयमा छात्रावास भवन निर्माणको डिपिआर गर्न सम्झौता

पोखरा ।
पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट प्रालिसँग ठेक्का सम्झौता गरेको छ ।
मंगलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक इन्जिनियर विष्णुप्रसाद खनालले उपकुलपति प्राडा बेदराज केसीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पोखरा–३०, खुदी, ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दक्षिणतर्फ रहेको १२ रोपनी क्षेत्रफलमा निर्माण गरिने नयाँ छात्रावास भवनको डिजाइन फागुन महिनाभित्र तयार पार्ने लक्ष्य छ । सम्झौताअनुसार, परामर्शदाताले छात्रावाससँगै भौतिक संरचना (आन्तरिक सडक, पैदलमार्ग, ढल, बगैंचा र पार्किङ) को विस्तृत वास्तुकलात्मक तथा इन्जिनियरिङ डिजाइन तयार गर्नेछन् । सम्झौताको कुल रकम १७ लाख ८८ हजार २ सय २५ छ ।
नयाँ छात्रावास भवन सय विद्यार्थी क्षमताको ५ तल्ले हुने र पहिलो तल्ला शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट नर्सहरूको क्वार्टरका रुपमा प्रयोग गर्ने योजना छ ।
नयाँ छात्रावास निर्माण कार्यले आवश्यक मापदण्ड र प्रक्रियालाई पूर्ण रुपमा पालना गर्दै विश्वविद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया