गण्डकी विश्वविद्यालयमा कुलपतिको म्याद सकिँदै, नियुक्तिका लागि सिफारिस समिति गठन

समाधान संवाददाता २०८१ माघ १४ गते ५:०७

पोखरा । स्वतन्त्र प्राज्ञिक व्यक्ति कुलपति रहने गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ । अहिलेका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिन लागेकाले विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको छ । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिँदैछ ।

Advertisement

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर छिटै नै दरखास्त आह्वान गर्न लागिएको विश्वविद्यालय स्रोतले बताएको छ । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुनेछ ।

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपतिका नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । हालका कुलपति त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।

Advertisement

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले बताए । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।

तपाईको प्रतिक्रिया