अव्यावहारिक ट्राफिक लाइट: रातो बत्तीलाई १२०, हरियोलाई २० सेकेन्ड

प्रमिला कुँवर २०८१ माघ २९ गते १२:०२

पोखरा ।
सवारी साधनको आउजाउ सजिलो बनाउने सडकको चोकहरुमा ट्राफिक लाइट राखिन्छ । पोखरा महानगरपालिकाका २० वर्षअघि नै केही चोकमा त्यस्तो प्रयास बिफल भएको थियो । अहिले फेरि मुख्य चोकहरुमा ट्राफिक लाइट त छ तर त्यति व्यवस्थित र व्यावहारिक नभएको अनुभव सवारी साधन चालकहरुको छ ।

Advertisement


सडक विभागको सहयोगमा पोखरा महानगरपालिकाले १ करोड ७० लाख रुपैयाँ लागतमा पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर, र बिरौटाचोकमा ट्राफिक लाइट जडान गरेको हो । लाइटको समय व्यवस्थापन प्रभावकारी नहुँदा ट्राफिक व्यवस्थापन सुधारको लक्ष्य पूरा हुन सकेको छैन ।


पोखरा १९ लामाचौरका बस चालक कृष्णप्रसाद पौडेलले दुई लेनको सडकमा ३ वटा ट्राफिक लाइट राख्नु अवैज्ञानिक रहेको बताए । बाटो अनुसारको ट्राफिक लाइट राख्नुपर्ने उनको माग छ । ‘सवारी साधन रोक्न १२० सेकेन्डसम्म रातो बत्ती बलिरहँदा, चल्नका लागि मात्र २० सेकेन्डको हरियो बत्ती उपलब्ध हुन्छ, जसले गर्दा सवारी, यात्रुलाई समस्या परेको छ,’ उनले भने, ‘हरियो बत्ती बल्यो भनेर गुड्न थाल्दाथाल्दै रातो बल्न भ्याइहाल्छ । हरियो बत्तीको समय अति कम छ तर रातो बत्तीको समय अनावश्यक रुपमा बढी छ ।’ पौडेलले यसका कारण सवारी साधनहरू लामो समयसम्म जाममा फस्ने र अनावश्यक प्रतीक्षा गर्नुपर्ने अवस्था आएको सुनाए । रातो बत्तीको समय धेरै हुँदा एकै ठाउँमा १२० सेकेन्ड होइन, २४० सेकेन्डसम्म पनि पालो नआउने थुप्रै चालकको गुनासो छ ।


ट्राफिक लाइटले सवारी साधनलाई त नियमन गरे पनि पैदलयात्रीलाई भने गर्न नसकेको उनको गुनासो छ । यात्रुले मनपरी बाटो काट्दा समस्या थपिएको बताउँदै यात्रुलाई पनि ट्राफिक लाइट सम्बन्धी जानकारी दिन सकेमा प्रभावकारी हुने उनी बताउँछन् । बाटो तीन लेनको बनाएर एउटा लेन चलिराख्ने भएमा एम्बुलेन्स, दमकल जस्ता साधन जाममा नपर्ने उनले बताए । अर्काे कुरा बायाँपट्टिबाट चोकहरुमा सवारी नियमित चलिरहन पाउनुपर्नेमा पोखराका चोकमा भने त्यस्तो छैन । सीधा बाटोमा रातो बत्ती बल्दा बायाँतिर पनि बल्छ ।


‘लाइट राखेर मात्र हुँदैन त्यही अनुसारको बाटो हुनुपर्छ । विद्यार्थीहरु जाममा पर्छन् । एम्बुलेन्स, दमकल पनि जाममा परेका हुन्छन् । तीन वटा बत्ती भए लेन पनि तीन वटै हुनुपर्छ । एउटा लेन चलिराख्ने भए कसैलाई समस्या नै हुने थिएन । जाममा पर्दा विरामीलाई केही भए कसले जिम्मा लिने ?’ उनको प्रश्न छ । लाइसेन्स वितरण प्रक्रिया अव्यवस्थित र अपारदर्शी हुँदा सडक सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको १३ वर्षदेखि पोखरामा लोकल बस चलाइरहेका पौडेलले भने ।

Advertisement


ट्राफिक लाइटले सवारी दुर्घटना कम भएको साथै सवारीहरु व्यवस्थित रुपमा चल्न थालेका ग१ख ४१७१ नम्बरको बसका चालक काजी श्रेष्ठले बताए । ट्राफिक लाइट आवश्यकता भित्रपर्ने भए पनि पोखरामा ट्राफिक लाइट राख्न मिल्नेजस्तो सडक नभएको उनको बुझाइ छ ।

रातो बत्तीको समय धेरै हुँदा एकै ठाउँमा १२० सेकेन्ड होइन, २४० सेकेन्डसम्ममा पनि पालो नआउने थुप्रै चालकको गुनासो छ


पृथ्वीचोक—सभागृह—सिर्जनाचोकबीचको ट्राफिक लाइट दुरी धेरै कम भएको श्रेष्ठ बताउँछन् । ‘पृथ्वीचोकमा २ मिनेट रोकिएर गयो, सभागृहचोकमा फेरि रोकिनुपर्छ, अनि फेरि सिर्जनाचोकमा पनि रोकिनुपर्छ । त्यसमाथि पैदलयात्रीले रातो बत्तिको ख्यालै नगरी मनपरी बाटो काट्छन् जसले गर्दा थप २ मिनेट खेर जान्छ । उनीहरुलाई जेब्राबाट काट्ने भन्ने थाहा छ तर रातो बत्ति बलेको बेला काट्न हुन्न भन्ने थाह छैन,’ श्रेष्ठले भने ।


सवारीको चाप बढिरहेको छ । सडक फराकिलो बनाउने ठाउँ छैन । बेलैमा सचेत नभएमा ठूलो समस्या आइपर्नेमा उनी चिन्तित देखिए । पोखराका सडकमा ट्राफिक लाइट अनिवार्य नभएको बताउँदै ट्राफिक प्रहरी, जेब्रा क्रसिङ, रोड डिभाइडर, सिग्नल बोर्डहरु सही ढंगले प्रयोग गर्न सकेमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुने उनी बताउँछन् ।


‘महेन्द्रपुलमा त झन् तनाव दिएको छ ट्राफिक लाइटले,’ दिक्क मान्दै श्रेष्ठले भने, ‘ट्राफिक लाइट राख्ने भए तत्कालै पुल नयाँ बनाउनुपर्छ । पैदलयात्रीको चाप पनि बढी हुने भएकाले कहिले त जाम अस्तव्यस्त नै बन्छ ।’


ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) शोभा पाण्डेले ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा सुधार आएको र यातायात प्रवाहमा सहज भएको बताइन् । ट्राफिक लाइटको सञ्चालनले समय र इन्धनको बचत भएको साथै ट्राफिक जामको समस्या कम भएको पाण्डेको भनाइ छ । ट्राफिक प्रहरीलाई सडकमा खटिरहनुपर्ने समस्या हटेको, सवारी तथा पैदलयात्रीलाई नियन्त्रण गर्न सहज पुगेको उनले बताइन् ।

पाण्डेले भनिन्, ‘ट्राफिक लाइट प्रणालीलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधि ल्याउनुपर्छ । यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना छ । ट्राफिक लाइटको समय वैज्ञानिक ढंगले समायोजन गर्न सकिए समस्याको समाधान हुन सक्छ । यस विषयमा सम्बन्धित निकायले चाँडै निर्णय लिन आवश्यक छ ।’


चाहिन्छ इन्टेलिजेन्स ट्राफिक लाइट


ललितपुर महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ । इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरे पोखराको ट्राफिक व्यवस्थापन सुधार्न प्रभावकारी समाधान हुन सक्छ । यसले सवारी साधनको चाप अनुसार स्वचालित रूपमा बत्तीको समय व्यवस्थापन गर्छ । सवारी संख्याका आधारमा लाइटको समय मिलाउने हुँदा ट्राफिक व्यवस्थापन सहज बनाउँछ ।

जता धेरै सवारी साधन छन्, त्यतै पहिला बाटो खुला गर्ने र थोरै भएतिर धेरैबेर रातो बत्ती बल्ने इन्टेलिजेन्स ट्राफिक लाइटको विशेषता हो । लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ । यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण पढ्छ । सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया