गण्डकी विश्वविद्यालयको ५ औं वार्षिकोत्सव

अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

समाधान संवाददाता २०८१ फागुन ४ गते २०:३३

पोखरा । संघीयतापछि प्रदेशले स्थापना गरेको पहिलो गण्डकी विश्वविद्यालयले आइतबार पाचौं वार्षिकोत्सव मनाएको छ । २०७६ सालमा ऐन आएपछि त्यहि वर्षको फागुन ४ गते कुलपतिको नियुक्ति भएको थियो । त्यहि दिनलाई विश्वविद्यालय स्थापना दिवसका रुपमा मनाइँदै आएको छ । न्यासिक परिषदबाट स्वायत्तरुपमा सञ्चालन हुने यो नै नेपालको पहिलो विश्वविद्यालय हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युग र समय सुहाउँदो जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्दै प्राज्ञिक थलो भएकाले अनुसन्धानलाई पनि उत्तिकै महत्व दिन आग्रह गरे । मुख्यमन्त्री पाण्डेले ऐनले विश्वविद्यालयलाई स्वायत्तरुपमा चल्ने परिकल्पना गरे पनि स्वतन्त्र रुपमा सरकारसँग समन्वयबाट नै अगाडि बढ्न सुझाए । विश्वविद्यालयले सरकारसँग समन्वय कम गरेकोप्रति उनको भनाइ लक्षित थियो । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नभएकोप्रति संकेत गर्दै उनले भने, ‘राजनीतिक हस्तक्षेप त भएन होला, तर विश्वविद्यालयले एकलौटी रुपमा गरेका निर्णयहरुका बारेमा पनि सोच्नुपर्ने होला नि !’

Advertisement

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल शनिबार अर्थात् फागुन ३ गतेबाट सकिएको छ । त्यस अगावै कुलपतिको नियुक्तिका लागि ऐनको प्रावधान अनुसार कुलपति नियुक्ति सिफारिसका लागि समिति बनाइएको थियो । समिति बनाउँदा सरकारसँग समन्वय नएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन् । कुलपति नियुक्ति सिफारिसका लागि न्यासिक परिषदका अध्यक्षको संयोजकत्वमा समिति रहने प्रावधान छ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, एआई, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिएर विभिन्न कार्यक्रमहरुगरी अगाडि बढ्न सुझाव दिए । मुख्य मन्त्री पाण्डेले विश्वविद्यालयलाई प्रदेश सरकारका तर्फबाट पूर्ण साथ रहेको उनको भनाइ थियो । यो विश्वविद्यालयले नेपाललाई चाहिने दक्ष जनशक्ति विदेशबाट आउने र यहाँको जनशक्ति रोजगारीका लागि विदेशिने क्रम बढेकै भन्दै यो दुवैलाई रोक्न आवश्यक रहेको बताए ।

प्रविधियुक्त सिप जानेको जनशक्ति उत्पादन गरी प्रदेशले देखेको सपना पूरा गर्न विश्वविद्यालय लाग्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विश्वविद्यालयले विशेष आधार स्तम्भ शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका गतिविधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले भने बदलिँदो विश्व परिवेश र आफ्नै प्रविधिको प्रयोग गरी नयाँ समयले ल्याएका नयाँ चुनौतीलाई चिनेर सम्भावनालाई खोजी गर्न विश्वविद्यालय लाग्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापले नयाँ सोचका साथ र उत्कृष्ट बन्ने लक्ष्यका साथ ज्ञानमा आधारित समाजको निर्माणमा विश्वविद्यालय अग्रसर हुनुपर्ने उनको भनाइ थियो । विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टलिजेन्ट्स (एआई) को पढाइ सुरु गरेकोप्रति उनले धन्यवाद् दिए ।

Advertisement

निमित्त कुलपति प्राडा नवराज देवकोटाले गण्डकी प्रदेशमा सरकारीस्तरबाट शिक्षण अस्पताल नभएको हुँदा गण्डकी विश्वविद्यालयमार्फत त्यस्तो अस्पताल सञ्चालन गर्नु सकिने बताए । नेपालमै उत्पादित जडिबुटीको खोज, उत्पादन र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी शिक्षण अभ्यास गराउन विश्वविद्यालय लागिपरेको उनको भनाइ थियो ।

रजिस्ट्रार डा.कैलाश तिमिल्सिनाले हाल विभिन्न संकायमा ७ सय ५३ जना विद्यार्थीले अध्ययन गरेको र विश्वविद्यालय विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख भएको बताए । विश्वविद्यालयले नवप्रवर्तनमा जोड दिँदै पढाइसँगै रोजगारीलाई समेत प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

कार्यक्रममा न्यासिक परिषद्का अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल, परिषदकै पूर्व अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले शुभकामना व्यक्त गरे । पोखरा महानगरपालिका वडा नंं ३२, का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सुविधा सम्पन्न अस्पताल निर्माण गरी स्थानीयलाई रोजगारीको सुनिश्चित भएमा चाहिएजति जग्गा दिन तयार रहेको बताए । कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएको सहायक प्रशासक डोलराज सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया