पोखरा युनाइटेडमा सांस्कृतिक भेला

समाधान संवाददाता २०८१ फागुन ६ गते ६:०४

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्रांगणमा जारी छ ।

Advertisement

दुई दिन सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका थिए । सो अवसरमा वडाध्यक्ष बास्तोलाले देशमा व्यावहारिक शिक्षा अपरिहार्य भएको बताए । उनले व्यावहारिक शिक्षा दिन नसकिए बेरोजगारको संख्या घट्न नसक्ने स्पष्ट पारे । बुद्धको देश नेपाल बुद्धि भएका मानिसको पनि देश हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए ।

हिसान कास्कीका उपाध्यक्ष विष्णुप्रसाद शर्मा तिमिल्सिनाले पोखरा युनाइटेड एकेडेमी पोखराकै उत्कृष्ट विद्यालय भएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले सोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नाटक प्रहशन, कविता प्रस्तुतका साथै स्वस्ती वाचन गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा कक्षा १ देखि ६ सम्मका वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

Advertisement

विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षिका गीतादेवी शर्माले सञ्चालन गरेकी थिइन् । कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार कक्षा ७ देखि १२ सम्मका विद्यार्थी, उत्कृष्ट शिक्षक, शिक्षिका तथा कर्मचारीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया