पोखरा युनाइटेडमा पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । दुई दिन सञ्चालन भएको कार्यक्रमको उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला तथा समापन राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रमुख गोविन्द पोखरेलले गरेका हुन् ।
समापन कार्यक्रममा पोखरेलले विद्यालय र शैक्षिक गुणस्तर उकास्न विद्यालय, विद्यार्थी र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले विद्यालय राम्रो हुन नसके विद्यार्थीको भविष्य अन्धकारमा धकेलिने जनाए । विद्यालयले उत्पादन गरेका जनशक्ति बजारमा बिक्न र टिक्न सक्ने हुनुपर्ने पोखरेलले बताए ।
प्याब्सनका केन्द्रीय सदस्य बाबुराम पन्तले पोखरा युनाइटेड एकेडेमी उत्कृष्ट शैक्षिक संस्था भएको बताए । राम्रो पढाइको वातावरण बनाउन सबैले ध्यान दिनुपर्ने पन्तको तर्क छ । ‘त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने गरेका छन्’, उनले भने, ‘यसलाई रोक्नुपर्छ ।’
कार्यक्रममा नेपाल स्काउट गण्डकी आयुक्त सागर पौडेल र विद्यालयका सहायक प्राचार्य गोविन्द चापागाईंले बोलेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय फडिन्द्र शर्मा, गीतादेवी शर्मा तथा विद्यार्थीद्वय अञ्जली रानाभाट र स्मीता भण्डारीले गरेका थिए ।
सो अवसरमा विद्यार्थीले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नाटक, कविता प्रस्तुत गरे । दोस्रो दिनको कार्यक्रममा कक्षा ७ देखि १२ सम्मका वार्षिक परीक्षा, अतिरिक्त क्रियाकलाप र विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
२०५० मा स्थापित विद्यालयमा हाल ८ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाइ हुन्छ । आगामी दिनमा मोबाइल, टिभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया