अस्पताल विकास समितिको गठन आदेश पुनरावलोकन गर्न माग

पोखरा । गण्डकी प्रदेश सभाको असोज ८ गते बसेको बैठकमा सांसदहरूले शून्य समयमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
तनहुँको दमैलीदेखि नारायणघाट जाने वैकल्पिक सडक निर्माणका विषयमा सांसद अशोककुमार श्रेष्ठले २० वर्षअघि निर्माण हुन लागेको सडक हालसम्म पूरा नभएको भन्दै चाँडो सम्पन्न गर्न माग गरेका छन् ।
सांसद कुशुम बुढा पुनले अस्पताल विकास समितिको गठनसम्बन्धी आदेशबारे असन्तुष्टि जनाउँदै जिल्ला समन्वय समितिको प्रमुखलाई अस्पताल विकास समितिको नेतृत्व दिनु वैज्ञानिक नभएको बताइन् । उनले यस्तो निर्णय पुनरावलोकन गर्न माग गरिन् ।
सांसद दमयन्ती रुचालले भारतमा रहस्यमय अवस्थामा मृत्यु भएकी नेपाली विद्यार्थी प्रतिमा लम्सालको घटनामा गम्भीर अनुसन्धान गर्न नेपाल सरकार र प्रदेश सरकारसँग माग गरिन् ।
सांसद दीलमाया पौविले अन्तरजातीय प्रेम सम्बन्धका कारण भदौ १७ गते रातिदेखि बेपत्ता भएका बागलुङको निसिखोला गाउँपालिका १ का दिलीपको अवस्था अझै अज्ञात रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद निर्मला थापाले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा नेपालका अर्थमन्त्री र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनाको छानबिन गर्न माग गरिन् ।
सांसद भोजराज अर्यालले असार र असोज महिनामा वर्षाका कारण भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले के कस्ता पहल गरेको छ भन्ने जानकारी माग गरे ।
सांसद महेश भट्टराईले अघिल्लो सरकारले सामुदायिक भवन र क्लब निर्माणका लागि विनियोजन गरेको बजेट उपयोग नगरिँदा भवनहरू अपूर्ण अवस्थामा रहेको भन्दै समस्या समाधान गर्न आग्रह गरे । सांसद मुनिन्द्रजंग गुरुङले मनाङको नासो गाउँपालिका ५ र ६ जोड्ने दूध खोला पुल निर्माण आठ वर्षसम्म पूरा नभएको भन्दै ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सरकारलाई आग्रह गरे ।
सांसद रेशमबहादुर जुग्जालीले निर्माण व्यवसायीहरूले बजेटको अभावमा काम छाड्नुपरेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । सांसद बिन्दु पौडेलले त्रिवेणीधामदेखि दुम्किबाससम्मको ८ किलोमिटर सडक अलपत्र परेको भन्दै सरकारले यसलाई कहिले पूरा गर्ने जानकारी गराउन माग गरिन् ।
सांसद सीताकुमार सुन्दासले भदौ २२ गतेको अविरल वर्षाका कारण क्षति पुगेको मातृभूमि मावि ४ हरिनास विद्यालयको संरक्षण र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुशीला सिम्खडाले गोर्खा जिल्लाको मनास्लु क्षेत्रमा होटलहरू बन्द हुँदा पर्यटकहरू फर्कनुपरेको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन् ।
सांसद श्यामराजा महतले पुल, बाटो तथा अन्य पूर्वाधार योजनाहरूमा ढिलाइ हुँदा श्रमिकहरूले पारिश्रमिक नपाएको भन्दै समस्या समाधानको माग गरे । सांसद हरिबहादुर भण्डारीले असोज २० गतेको वर्षाका कारण बेनीमा ४० घरधुरीमा क्षति पुगेको बताउँदै पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरे । गण्डकी प्रदेश सभाको बैठक फागुन २२ गतेका लागि डाकिएको छ ।
तपाईको प्रतिक्रिया